हेटौंडा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १० औ वार्षिकोत्सव समारोह सोमबार हेटौंडामा भएको छ । वोर्डका अध्यक्ष प्रताप सविष्टको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले खानेपानी संस्थानबाट बोर्डमा परिणत भएपछी अहिले सम्म भएका कामका प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा बोर्डको स्थापना कालमा काम गरेर सहयोग पुर्याउने तत्कालीन कार्यकारी निर्देशक तथा बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, बोर्ड स्थापनाका लागि सहयोग पुर्याउने हेटौंडा उपमहानगरपालिकाका अधिकृतहरु जगन्नाथ सापकोटा र मनोज कुमार सुवेदीलाई विशेष सम्मान गरिएको छ ।
त्यसैगरी खानेपानी बोर्डमा पानी उत्पादन, वितरण, फिल्डमा खटिने, मिटर रिडर लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने ११ जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो । वोर्डले उपमहानगरका वडा नम्बर ३, ११, १२ र १३ नम्बर वडा बाहेकका वडाहरुमा बसोबास गर्ने एक लाख ५५ हजार नगरवासीहरुलाई दैनिक एक करोड ८८ लाख लिटर पानी वितरण गर्दै आइरहेको छ । करिब २३ हजार ५ सय धाराबाट दैनिक ६ देखी ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको वोर्डका अध्यक्ष प्रताप विष्टले बताए । हेटौंडा उपमहानगरले नगरबासीहरुलाई राहत स्वरुप गत भदौ महिनादेखी न्यूनतम खानेपानी महशुलमा १० हजार लिटर छुटको व्यवस्था समेत गरेको जनाइएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका सदस्य डा. कृष्ण धिताल, खानेपानी उपभोक्ता समितिका भवसागर श्रेष्ठ लगायतकाले आफ्नो भनाई राखेका थिए ।







