अमर विद्यालयको कप्तानमा गणेश र उपकप्तानमा सुयोग विजयी

हेटौँडा, हेटौँडा १ मा रहेको अमर माध्यमिक विद्यालयको कप्तानमा गणेश रसाइली निर्वाचित भएका छन् । कक्षा ८ मा अध्ययनरत छात्र गणेशले १८० मत प्राप्त गर्दै विद्यालय कप्तानमा निर्वाचित भएका हुन् । यसैगरी विद्यालयको उपकप्तानमा कक्षा ९ मा अध्ययनरत छात्र सुयोग सापकोटाले १९५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

ADVERTISEMENT

विद्यालयको कप्तानमा गणेश रसाइली, रिसिका घिमिरे, असमन तामाङ, नम्रता पराजुलीले उम्मेदवारी दिएको विद्यालयका सहायक प्रधानाध्यापक तथा प्रमुख निर्वाचन अधिकृत डीबी बर्तौलाले जानकारी दिए । यसैगरी विद्यालयको उपकप्तानमा सुयोगसहित दीपिका विडारी, रोनिशा रायले उम्मेदवारी दिएका थिए । कक्षा कप्तानहरुमा कक्षा ४ का रुथ परियार र विनय परियार, कक्षा ५ की अमिशा बज्यू र अर्पण थिङ, कक्षा ६ की सजिना प्रजा र सुमन मोक्तान निर्वाचित भए । यसैगरी कक्षा ७ की रेश्मा बिक र सन्तोषीकुमार राम, कक्षा ८ की सुमिना लामिछाने र ईश्वर रसाइली, कक्षा ९ का मुस्कान दास र प्रनेश गोङ्वा र कक्षा १० की अनिशा परियार र रकम सुनार निर्वाचित भए ।

निर्वाचनबाट स्कुल क्याप्टेन १ जना, भाइस क्याप्टेन १ जना तथा कक्षा ४ देखि कक्षा १० सम्मको एक छात्रा र एक छात्र गरी दुई जना मनिटरका लागि शुक्रबार निर्वाचन भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जानकी गिरी, विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीको उपस्थितिमा सहायक प्रधानाध्यापक डीबी बर्तौला प्रमुख निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका थिए । लोकतान्त्रिक अभ्यासको सिकाइ र नेतृत्व विकासको उद्देश्यले विद्यालयस्तरमा निर्वाचन आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल मालती उप्रेतीले बताइन् । कक्षा ४ देखि १० सम्म अध्ययनरत २८६ जना विद्यार्थीले कप्तान र उपकप्तानमा मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *