हेटौंडा, मकवानपुरगढी गाउँपालिका–२ सिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज ३ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ९६११ नम्बरको खाली बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको ना ५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका–२ लामिडाँडा निवासी अन्दाजी ५५ वर्षीय दोर्जेरत्न योञ्जन गम्भीर घाइते भएका थिए । उनलाई बस चालकले नै तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए । पछि थप उपचारका लागि चुरेहिल अस्पताल सीएमसी मकवानपुर लगिएकोमा उपचारकै क्रममा अपराह्न ४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि बस र बस चालक काभ्रेको चौरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा लिइएको छ । स्कुटर इलाका प्रहरी कार्यालय मकवानपुरगढीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ५ किलोमिटर पश्चिममा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







