हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको ९ बिद्यालय लक्षित गर्दै दिवा खाजाका लागि ‘मेघा किचन’ सञ्चालनमा आएको छ । बिद्यार्थिहरुको दिवा खाजा व्यवस्थापनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको ६, १६, १७, १८ मा रहेका नौं बिद्यालयमा अध्ययनरत बिद्यार्थिका लागि ‘मेघा किचन’ सञ्चालनमा ल्याईएको हो ।
चार वडाका बिद्यालय लक्षित गर्दै हेटौंडा–१७ मा रहेको बालबोध माबिमा किचन सञ्चालन भई खाजा बितरण हुने हेटौंडा उपमहानगरपालिका शिक्षा बिकास महाशाखाले जनाएको छ । संघिय सरकारले चालु आर्थिक बर्ष २०८१÷०८२ मा देशका सबै प्रदेशमा ‘मेघा किचन’को व्यवस्थापन गरेपनि बागमती प्रदेशको हेटौंडाबाट खाजा बितरणको काम अघि बढेको हो ।
खाजा बितरणका लागि बालबोध माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालको अध्यक्षतामा मेघा किचन व्यवस्थापन समिति गठन गरेर कामलाई अघि बढाइएको शिक्षा महाशाखाका प्रमुख सिताराम कोइरालाले जानकारी दिए । किचनबाट बालबोध सहित बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभुत, ज्योती, गोरक्षश्वर, कमला, दिव्यज्योती र राजदेवी माबिमा खाजा जाने व्यवस्थापन समितिका अध्यक्ष अर्यालले जानकारी दिए ।
संघिय सरकारबाट चैत्र महिनामा खाजा व्यवस्थापनको लागि बजेट आएपनि आन्तरीक काम मिलाउँने क्रममा भर्खरै मात्र किचन सञ्चालनमा आएको महाशाखाका प्रमुख कोईरालाले बताए । उनका अनुसार चार वडाका नौ बिद्यालयमा कक्षा १० सम्म पढ्ने ७ हजार बिद्यार्थि खाजाबाट लाभाम्बित हुने छन् । किचनमा राष्ट्रिय मापदण्ड अनुसार बिद्यालय सञ्चालनको ६ दिन ६ नै प्रकारका खाजा बनाउँने र बितरण हुनु पर्ने छ । किचन व्यवस्थापनले स्थानिय उत्पादनलाई प्राथमितामा राखेर खाजा बितरणको काम गर्न पनि सक्ने बताइएको छ ।
सञ्चालनमा आएको किचनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा– १८ का अध्यक्ष अनिलकुमार बानियाँ, शिक्षा महाशाखाका प्रमुख कोइरालाले अनुगमन तथा निरीक्षण गरेका छन् । किचन सञ्चालनको लागि चालु आर्थिक बर्षमा संघिय सरकारले ५० लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । अनुगमन पछि नगर प्रमुख लामाले बिद्यार्थिको स्वास्थ्यलाई ध्यान राखेर खाजाको व्यवस्थापन गर्न सुझाब दिइन् ।






