बसेर कुरा गरौला


बिहान चिया खादै थिएँ
एकजना मित्रको फोन आयो
भन्यो, धनीले जग्गा पास गरिदिएन
बैना रकम खायो ।
किन पास नगरेको भन्दा
जानेको गर भनेर उल्टै हप्की लायो ।
तनाव भएको छ
के गर्ने होला ?
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौला ।

ADVERTISEMENT

ब्रेकफास्ट खाँदै गर्दा
फेरि अर्को फोन आयो
भन्यो, हाम्रो पार्टी फुट्यो
सोही कुराको निहुँमा
उसले हाम्रा कार्यकर्तालाई कुट्यो
गाइगुइ हल्ला सुनिदैछ
हाम्रै साथीहरुले पनि
विरोधीलाई सघाएको छ
नेतृत्वदेखि सबै अघाएको छ
अब हाम्रो पनि पालो आउनु पर्छ
यसपालि मैले नै टिकट पाउनु पर्छ
दौरा, सुरूवाल र कोट सिलाउनु पर्यो
टिकटको व्यवस्था हजुरले मिलाउनु पर्यो
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौला ।

केहीबेर पछि
फेरि अर्को फोन आयो
उसले भन्यो,
म संगै जागिर खाएको साथी
पुगिसक्यो धेरै माथि
उसले कुस्त कमाई सक्यो
समाजमा सान जमाई सक्यो
तर, आफूलाई भने सधैं अर्थको अभाव छ
श्रीमती र छोराछोरीको पनि दवाव छ
हजुरले यति बिचार गर्नु पर्यो
मालदार अड्डामा सरूवा गर्नु पर्यो ।
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौला

एकछिन पछि
अर्को फोन आयो
भन्यो, हामीले पीच गरेको सडक
पाँच दिन मै ङिच पर्यो
सडक जे सुकै होस्
हामीलाई राम्रै माल झर्‍यो
पुनः ठेक्का खुलेको छ
त्यसबाट मनग्ये फाइदा हुन्छ
हजुरको कुरा सबैले सुन्छ
सो ठेक्का हामीलाई दिलाई दिनु पर्यो
जसरी हुन्छ मिलाई दिनु पर्यो
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौला ।

यस्ता फोन धेरैका आए
सबैले आ–आफ्ना गुनासा सुनाए
सबैलाई यसैगरि टार्दै आएँ
भाखा मिलाएर सार्दै आएँ
बिडम्बना –
एकदिन सबै मेरो निवास आए
उहि पुरानै कुरा फुकाए ।
उनीहरू समस्या भन्दै थिए ।
आफू बसेर सुन्दै थिएँ ।
जिब्रो फेरि मसंग जिस्कियो
र, मुखबाट उही वाक्य फुत्त निस्कियो
‘हुन्छ बसेर कुरा गरौला’

Advertisement 5

(लेखक सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष हुनु हुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *