जनप्रियमा बृहत शैक्षिक प्रदर्शनी, शिक्षक विद्यार्थी सम्मानित

हेटौँडा १६ स्थित जनप्रिय माविमा आज बृहत शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका गणित, विज्ञान, सामाजिक तथा नेपाली विषय लगायतका विभिन्न शैक्षिक सामग्री प्रदर्शनमा ल्याइएको थियो । प्रदर्शनीबाट विद्यार्थीको सैद्धान्तिक ज्ञानको अलावा प्रयोगात्मक सीपको समेत विकास हुने अपेक्षा रहेको प्रधानाध्यापक भूपेन्द्र चौलागाईले बताए ।

ADVERTISEMENT

प्रदर्शनीबाट छिमेकी अन्य विद्यालयका विद्यार्थीले समेत लाभ लिएको आयोजक विद्यालयको दावी रहेको छ । आयोजक विद्यालय सहित छिमेकी विद्यालय बालबोध मावि हेटौँडा, ज्योति मावि हर्नामाडी, र राजदेवी माविका गरी करिव २५ सय विद्यार्थीले शैक्षिक प्रदर्शनी अवलोकन गरेका थिए । मैत्रीपूर्ण अवलोकन पश्चात ज्योति मावि हर्नामाडीका शिक्षक पूर्णचन्द्र काफ्लेले विद्यार्थीमा वैज्ञानिक सोच र नवीनतम चिन्तन विकासमा यसले टेवा पुग्ने बताए । राजदेवी माविका शिक्षक प्रमोद दाहालले भने यो प्रदर्शनी शिक्षाका क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रहेको प्रतिक्रिया व्यक्त गरे ।

यसैबीच जनप्रिय माविले आज नै एसईई परीक्षा २०८१ को नतिजामा उत्कृष्ठता हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई नगद सहित सम्मानपत्र प्रदान गरेको छ । विद्यालयले परीक्षामा 3.६ भन्दा माथि जिपिए प्राप्त गर्ने ६ जना विद्यार्थीलाई जनही नगद रु ५ हजार त्यसैगरी 3.२ भन्दा माथि जिपपिए प्राप्त गर्ने ३४ जनालाई रु ३ हजार नगद सहित सम्मानपत्र प्रदान गरेको हो । यसैगरी नतिजामा सफल हुने सबै विद्यार्थीलाई विद्यालयले सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।

यता विषयगत रुपमा ए प्लस ल्याउन सफल गराउने शिक्षक तथा माध्यम एवम् संकायगत रुपमा उच्च औषत जिपीए ल्याउने र विषयगत रुपमा शत् प्रतिशत विद्यार्थी पास गराउन सफल शिक्षकलाई पनि दोसल्ला र सम्मानपत्र सहित विद्यालयले सम्मान गरेको छ ।
यसैबीच जनप्रिय माविले आज नै ३ वटा विधाका छुट्टा छुट्टै भित्ते पत्रिका समेत कार्यक्रमका बीच विमोचन गरेको छ । अंग्रेजी, नेपाली तथा बालिविज्ञान माध्यमका भित्ते पत्रिका विमोचन गरिएको हो । बालबालिकाको सृजनात्मक क्षमता र पठन संस्कृति विकास गराउन जनप्रियले विगत देखि नै त्रैमासिक रुपमा भित्त पत्रिका प्रकाशन गर्दै आएको छ । शैक्षिक वर्ष २०८२ का लागि भने यो पहिलो अंक रहेको रिडर्स क्लवका संयोजक संप्रस पौडेलले बताए । जनप्रियमा जनप्रिय मिडिया क्लव एवम् रिडर्स क्लवको संयुक्त संयोजनमा भित्ते पत्रिका प्रकाशन हुँदैआएको छ ।

हेटौँडा १६ का अध्यक्ष एवम् उपमहानगरका सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष मोहनप्रसाद वस्ताकोटिले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विव्यस प्रतिनिधि, शिक्षक अभिभावक संघ प्रतिनिधि एवम् अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कोईरालाले एसईई परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *