कांग्रेस नेता चेपाङ बचाउन फिल्म च्यारिटी

हेटौंडा, मृगौला सम्बन्धि रोगबाट ग्रसित नेपाली कांग्रेस मकवानपुरका नेता रामकृष्ण चेपाङको उपचारका लागि फिल्मको विशेष प्रदर्शनी (च्यारिटी) हुने भएको छ । बिहीबार चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । कांग्रेससहित विभिन्न पार्टीका नेताहरुले सञ्चालन गरेको रामकृष्ण चेपाङ बचाउ अभियानले नेपाली चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेका हुन् ।

ADVERTISEMENT

मकवानपुरको राक्सिराङ गाउँपालिका ८ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष रहेका चेपाङ विगत करिब एक बर्षदेखि मृगौलाको विरामीका कारण घरमै आराम गर्दै आएका छन् । कांग्रेस नेता शंकर न्यौपानेको संयोजकत्वमा रामकृष्ण चेपाङ बचाउ अभियान सञ्चालन भैरहेको छ । ‘आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला प्रत्यारोपण गर्न नसकेकोले वहाँको जीवन रक्षाको उद्देश्यसहित चलचित्रको विशेष प्रदर्शनी गर्न लागेका हौं’, न्यौपानेले भने, ‘यो अभियानमा कांग्रेस, स्वतन्त्र पार्टी लगायतका दलका नेताहरुले सहयोग गरिरहनुभएको छ ।’

टिकट विक्री र सहयोग प्रतिबद्धता वापतको रकम संकलन गरी चेपाङलाई हस्तान्तरण गरिने उनले बताए । दिउँसो साढे २ बजे ओम्याक्स हलमा विशेष प्रदर्शनी हुने जानकारी दिइएको छ । यसअघि नाई नभन्नु ल ६ को प्रदर्शन गर्ने भनिएपनि विशेष कारणले बुलाकी चलचित्र देखाउनुपरेको कांग्रेस नेता सुशान्त श्रेष्ठले जानकारी दिए । चेपाङको मृगौला ट्रान्सप्लान्ट र औषधिको लागि करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेताहरु आनन्दराम पराजुली, ईश्वर पाठक, ईन्द्रकुमार बर्तौला, उत्सव इटेनी, स्वतन्त्र पार्टीका नेता टाकाराज थापा लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *