बागमती प्रदेशमा रोपाइँ ५१.७८ प्रतिशत सम्पन्न

हेटौँडा, बागमती प्रदेशमा यो वर्षको धान रोपाइँ कार्य गत वर्षको तुलनामा उल्लेखनीय रूपमा अघि बढेको छ। बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल ५१.७८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।

ADVERTISEMENT

गत वर्ष यसै अवधिसम्म जम्मा १९.२४ प्रतिशत मात्रै रोपाइँ भएको थियो। निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठका अनुसार यो प्रगतिको मुख्य कारण समयमै वर्षा हुनु हो, जसले रोपाइँको काममा सकारात्मक प्रभाव पारेको छ। यो वर्ष बागमती प्रदेशका १३ जिल्लामा कूल १ लाख २० हजार ६१० हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ। असार २२ गतेसम्ममा ६२ हजार ४६०.६८ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ।

काठमाडौँ, ललितपुर, भक्तपुरलगायतका जिल्लामा उच्च प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। काठमाडौँमा ९५ प्रतिशत रोपाइँ सकिएको छ भने, ललितपुर र भक्तपुर दुवैमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
धादिङमा भने सबैभन्दा कम २० प्रतिशत मात्र रोपाइँ भएको छ। अन्य जिल्लाहरूमा पनि रोपाइँ क्रमिक रूपमा भइरहेको छ।
निर्देशनालयले भौगोलिक कठिनाइ, सिँचाइको अभाव र केही क्षेत्रमा वर्षा कम भएकाले केही जिल्लामा अपेक्षित प्रगति नभएको जनाए तापनि समग्रमा यस वर्षको रोपाइँ अवस्था सकारात्मक रहेको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *