हेटौँडा, मकवानपुरको बकैया गाउँपालिका–५ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट आठ लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान करिब १ बजेतिर बकैया–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा इलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तिसुडे र अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको २१ सदस्यीय टोलीले उक्त स्थानमा छापा हानेको हो।
प्रहरीले घटनास्थलबाट २२ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएको ३ सेट कौडा र नगद रू। ८,३६,०४० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







