हेटौंडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेटौंडा–४, भैरवरोडमा दुग्धजन्य पदार्थको नयाँ बिक्री काउन्टर सञ्चालनमा ल्याएको छ। स्थानीय उत्पादनको उपभोग स्थानीय बजारमै सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त काउन्टरको उद्घाटन मकवानपुर दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल र मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले संयुक्त रूपमा गर्नुभयो।
संघ अन्तर्गतको दुग्ध सहकारी उद्योगमार्फत उत्पादन गरिएका स्वच्छ, शुद्ध र गुणस्तरीय दूध, दही, घिउ, मोही, पनिर, नौनीलगायतका वस्तुहरू सो काउन्टरबाट उपभोक्तालाई उपलब्ध गराइनेछ। निमित्त व्यवस्थापक दामोदर अधिकारीका अनुसार, काउन्टरमार्फत स्थानीय उपभोक्ताले अब दैनिक रूपमा सहज मूल्यमा गुणस्तरीय दुग्धजन्य उत्पादन प्राप्त गर्न सक्ने छन्। उहाँले उपभोक्तासम्म पारदर्शी, सुरक्षित र भरपर्दो सेवा पुर्याउने लक्ष्यका साथ काउन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो।
उद्घाटन समारोहमा अध्यक्ष कँडेलले सहकारीले एकद्वार प्रणालीमार्फत जिल्लाका विभिन्न सहकारीहरूसँग समन्वय गर्दै दुध संकलन र व्यवस्थापन गर्दै आएको उल्लेख गर्नुभयो। हाल मकवानपुरका ६६ वटा दुग्ध तथा बहुउद्देश्यीय सहकारी संस्थाबाट दैनिक ५० हजारदेखि ६० हजार लिटर दूध संकलन भइरहेको छ। उहाँले स्थानीय बजारमा बिक्री काउन्टर विस्तारसँगै उत्पादक कृषकको आय वृद्धि र उपभोक्ताको विश्वासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कँडेलका अनुसार सहकारी क्षेत्रले केही समस्या पनि झेलिरहेको छ, जस्तै दुधको भुक्तानीमा बक्यौता, मिल्क होलिडेजस्ता चुनौतीहरू। तर, बिक्री केन्द्रको विस्तारले माग बढाएर यस्ता समस्याहरूको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






