हेटौंडा, नवसर्जक साहित्य चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले आफ्नो प्रथम स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशस्तरीय ‘प्रथम बालसाहित्य उत्सव–२०८०’ स्रष्टा सम्मान एवम् रचना वाचन समारोहका रूपमा सम्पन्न गरेको छ ।
समारोहमा प्रा.डा. कपिल लामिछाने, प्रा.डा.हिरण्यलाल ज्ञवाली, सहप्रा.डा. गणेश पाण्डेय, डा. हिमलाल पन्थी, डा. प्रेमप्रसाद तिवारी, डा.नारायणप्रसाद पन्थ, युवा प्रतिभा सुलभ अधिकारी, बालप्रतिभा लक्ष्मी सुवेदी गरी आठ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बुद्धिसागर बेलबासे, यज्ञलाल सुवेदी, विद्या बेलबासे, कृष्णप्रसाद पाण्डे, सरु ज्ञवाली, सूर्य भुसाल, कृष्णप्रसाद भट्टराई, कमला खनाल कँडेल, प्रकाश भुसाल, लगायत दुई दर्जन स्रष्टाले रचना वाचन गरेका थिए । ।
हेटौँडामा केन्द्रीय कार्यालय रही देशका सात वटै प्रदेशमा कार्यसमिति विस्तार गरेको चौतारीको केन्द्रीय समितिको समन्वयमा हरेक प्रदेशमा बालसाहित्य उत्सव सम्पन्न गर्ने योजना रहेको र सोहीअनुरूप लुम्बिनी प्रदेशले कार्यक्रम सम्पन्न गरेको र आगामी दिनमा सबै प्रदेशहरूमा कार्यक्रम गर्ने चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँले बताइन् ।नवसर्जक साहित्य चौतारी, लुम्बिनी प्रदेश समितिकी अध्यक्ष जोशिका कडेँल ‘निशा’ को अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य माननीय विमला घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा साहित्यकार हरिप्रसाद घिमिरे, चौतारीका परिकल्पनाकार एवम् केन्द्रीय संरक्षक दीपक गौतम, संस्थाकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईँ, केन्द्रीय सल्लाहकारहरू ऋषिकेशव भारद्वाज, रमेशमोहन अधिकारी, जयन्ती आचार्य, साहित्यकारहरू जनार्दन खनाल, ऋषि आजाद विशिष्ट अतिथिका रूपमा रहेका थिए ।






