हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना एवम् जि.आई.जेड.को प्राविधिक सहयोगमा हेटौंडामा कर सम्बन्धि दुई दिवसीय तालिम भएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको तालिममा आन्तरिक राजश्व कार्यालयका निमित्त प्रमुख मनिष महतोको प्रमुख आतिथ्यता रहेको थियो । व्यवसायीलाई कर सम्बन्धि नियमको विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संघका अध्यक्ष गुप्ताले जानकारी दिए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत अवदेश यादव र गुणराज भण्डारी, जि.आई.जेड.का सल्लाहकार नविनलाल श्रेष्ठ, प्रशिक्षक चार्टर्ड एकाउन्टेण्ट अरुण राउत र रश्मिला महर्जन, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक लोकराज जोशीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेतीसहित करिब ५० जनाको सहभागिता रहेको थियो । चार्टर्ड एकाउन्टेण्टद्वय अरुण राउत र रश्मिला महर्जनले प्रशिक्षण दिएको तालिममा कर प्रक्रिया सम्बन्धी जानकारीसहित व्यवसाय दर्ता तथा नविकरण, अग्रिम कर कट्टी, लगानीमा आयकर तथा नियन्त्रणमा परिवर्तन र व्याज, जरिवाना तथा पुनरावलोकन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिमका सहभागीको जिज्ञासा तथा गुनासोको विषयमा आन्तरिक राजश्व कार्यालय हेटौंडाका निमित्त प्रमुख मनिष महतोले जवाफ दिएका थिए ।







