हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघ को ५९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको सभाअध्यक्षतामा भएको कार्यक्रममा उद्योग–व्यवसायको संरक्षण र विस्तारका लागि साझा प्रयास आवश्यक रहेको बताएका छन्।
उनका अनुसार स्थानीय स्तरमा लगानीमैत्री वातावरण निर्माण, पूर्वाधार सुधार र निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन सके मात्र दिगो आर्थिक विकास सम्भव हुने बताए। “व्यवसायीहरूको समस्या समाधान र उद्योगको विकासका लागि संघ निरन्तर सक्रिय रहन्छ,” अध्यक्ष रानाभाटले भने।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा इन्द्रबहादुर बानियाँ सहभागी रहेका थिए। उनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार र शहरी पूर्वाधार सुधारलाई अब अनिवार्य आवश्यकता भएको उल्लेख गरे। साधारणसभामा प्रदेश तथा जिल्लास्तरका राजनीतिक र प्रशासनिक नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा भारती पाठक, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायतको उपस्थिति रहेको थियो। यसैगरी संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवाल र राजकुमार न्यौपाने सहित अन्य अतिथिहरूको सहभागिता रहेको थियो।






