हेटौँडा, इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनि रहेको यो स्थानको पुरानो पुल गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
पुल प्रतिस्थापनका लागि असार २८ गतेदेखि बेलिब्रिज जडान कार्य सुरु गरिएको हो। बेलिब्रिज जडानको मुख्य संरचना तयार भइसकेको छ भने अहिले ‘डेक प्लेट’ हाल्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। इन्जिनियर दीपेन्द्र यादवका अनुसार आगामी २–३ दिनभित्र सबै काम सम्पन्न गरी साउन १५ देखि सो मार्ग हुँदै सवारीसाधन सञ्चालनमा ल्याउने योजना छ।
बेलिब्रिज जडानका लागि भैंसे–भीमफेदी सडकखण्डमा प्रयोगविहीन अवस्थामा रहेका दुईवटा बेलिब्रिजलाई झिकेर सिमखोलामा ल्याइएको हो।
यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहका अनुसार पुल जडान कार्यमा ३० जना प्राविधिक तथा कामदारहरू खटिएका छन्। बाढीले पुलसँगै दायाँबायाँको पहुँचमार्गसमेत बगाएपछि विकल्पका रूपमा बेलिब्रिज जडानको निर्णय गरिएको हो।
कुलेखानी जलाशय भरिएपछि गेट खोल्दा आएको उच्च बहावले सिमखोलाको पुल र सडकमा ठूलो क्षति पुर्याएको थियो। हाल अस्थायी रूपमा खोलाबाट डाइभर्सन बनाएर सवारी सञ्चालन भइरहेको छ। स्थायी समाधानका रूपमा बेलिब्रिज जडान गरिएको अधिकारीहरूले बताएका छन्।






