आफ्नै समूह मिलाउन नसक्दा मुख्यमन्त्री लामाको राजीनामा होल्ड

हेटौँडा, आफ्नै सांसदहरूबिच सहमति जुटाउन नसक्दा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा होल्ड भएको छ । केन्द्रीय निर्देशन अनुसार शुक्रबार राजीनामा दिने निष्कर्षमा पुगेका मुख्यमन्त्री लामा आफ्ना समूहका सांसद रिझाउन नसक्दा होल्ड भएका हुन् ।

ADVERTISEMENT

राजीनामाको तयारीमा रहेका मुख्यमन्त्री लामा आफ्नै समूहका सांसदको असहमतिका कारण रोकिएका छन् । मुख्यमन्त्री लामालाई कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार नै राजीनामा दिन निर्देशन गरेका थिए । सोहीअनुसार आफ्ना मुद्दाहरूमा राखेर देउवा निवासबाट बाहिरिएर राजीनामाको तयारीमा लागेका मुख्यमन्त्री लामालाई आफ्ना समूहका १४ जना सांसद रिझाउन कठिन भएको हो ।

काठमाडौँमा रहेका मुख्यमन्त्री लामा शुक्रबार नै हेटौँडा आउने तयारी रहेको भए पनि समूहका सांसदहरूले आफ्ना मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउन अडान राखेपछि उतै रोकिएका छन् । भक्तपुरमा भएको बागमती प्रदेश पूर्ण खोप घोषणा कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री लामाको सो पश्चात् हेटौँडा आउने तयारी रहेको थियो । तर, आफ्ना सांसदहरू रिझाउन नसक्दा उनी काठमाडौँमा नै पुनः बैठक बस्ने तयारीमा रहेका छन् ।

केही बेरपछि उनी आफ्ना १४ जना सांसदहरुसँग छलफलमा जुट्ने तयारी रहेको मुख्यमन्त्री लामा निकटका सांसद गोविन्द लम्सालले जानकारी दिए । उनका अनुसार शीर्ष नेतृत्वको निर्देशन स्वीकार गर्दै मार्ग प्रशस्त गर्ने निर्णयमा मुख्यमन्त्री लामा पुगे पनि समय निर्धारण भने भइनसकेको उनले बताए ।

मुख्यमन्त्री लामाले आज वा भोलि नै राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने योजना रहे पनि केही मुद्दाहरूमा आफ्ना समूहका सांसदहरूको सहमति नभएकाले होल्ड भएको उनले बताए । मिडियामा आएका भन्दा बाहेक केही विशेष मुद्दाहरूमा १४ जना सांसदहरूको एकमुष्ट सहमति जनाउने गरी आजै केहीबेरमा समूहको बैठक बस्ने तयारी रहेको उनको भनाइ छ । सो बैठक पश्चात् अन्य कुराहरुको निर्धारण गरिने उनले बताए ।

Advertisement 5

मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्ना समूहका सांसदहरूसहित सेटलमेन्टका लागि छलफल गरेका थिए । ३ जनालाई मन्त्री बनाउनुपर्ने सर्तसहित उनी राजीनामाको निष्कर्षमा पुगेको लामा निकटकै एक सांसदले बताए ।

उक्त विषयमा सभापति देउवाले पनि सकारात्मकता देखाएको उनको भनाइ छ । उनका अनुसार सभापति देउवाले मुख्यमन्त्री लामा निकटका सांसदहरूलाई स–सम्मान जिम्मेवारी प्रदान गर्ने जनाएका थिए ।

मुख्यमन्त्री निकटका सांसद तीर्थ लामाका अनुसार मुख्यमन्त्री लामाले हेटौँडामा नै पत्रकार सम्मेलन गरेर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरेका हुन् । समय निर्धारण नभए पनि सम्भवतः शनिबार र आइतबारमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिने तयारी रहेको छ । पार्टी शीर्ष नेतृत्वको निर्देशन विपरीत जान नहुने समूहको निष्कर्षसहित मुख्यमन्त्री लामा राजीनामाको तयारीमा जुटेको उनको भनाइ छ ।

पार्टीको निर्देशन स्विकार्नुको विकल्प नरहेको र प्रदेशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न नहुने निचोडसहित राजीनामा दिने तयारी रहेको उनले बताए । यता मुख्यमन्त्री लामाका अनुसार पार्टी सभापतिले राजीनामाको निर्देशन दिएको र त्यसलाई स्वीकार गरेर अघि बढ्ने तयारी रहेको छ । केही दिनमा राजीनामा दिने तयारी रहेको र सोही अनुसार दलका नेता तथा सांसदहरूसँग छलफल गरेर अघि बढ्ने योजना रहेको उनले बताए ।

‘अब सभापतिले भनेपछि नमान्ने भन्ने कुरा भएन । केही दिन लाग्छ । तत्काल दिने अवस्था पनि छैन’ उनले भने– ‘प्रदेश प्रमुखज्यू पनि बिरामी भएर अस्पताल भर्ना हुनुभएको छ । उहाँको अवस्था पनि सुधार हुँदै गएको जानकारी पाएको छु । राजीनामा दिने निश्चित हो । तर, केही विषयहरू मिलाउन बाँकी रहेकाले छलफलमा छौँ । हामी सहमति जुटाएर अघि बढ्छौँ ।’

मुख्यमन्त्री लामाको राजीनामाको तयारी भइरहेका बखत बागमती प्रदेशका प्रमुख दीपक देवकोटा भने काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेका छन् । पिसाबमा रगत देखिएपछि उनी बिहीबारबाट अस्पताल भर्ना भएका थिए । उनको किड्नीमा पत्थरी देखिएको जनाइएको छ । (स्रोतः रातोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *