हेटौंडा/यही पुस ९ गते हेटौंडामा एक कार्यक्रमकाबीच ६ जना व्यक्तिहरु पुरस्कृत हुने भएका छन् । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले उनीहरुलाई पुरस्कृत गर्न लागेको हो ।
समाजको विभिन्न क्षेत्रमा योगदानमा पुर्याएका साहित्यकार, कलाकार तथा स्वास्थ्यकर्मीलाई पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कृत व्यक्तिहरुको बिषयमा आयोजक प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार पहिलो चेपाङ गायक रविन्द्र चेपाङलाई प्रदान गरिने भएको छ ।
यस्तै १५ हजार राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार काठमाडौंका बासुदेव गुरागाईंलाई, १० हजार नगद राशीकैको तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरे साहित्यकार भावना सापकोटालाई, १० हजार राशीकै मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार हेटौंडाकी स्वास्थ्यकर्मी बेला वैद्यलाई, १० हजार राशीको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार हेटौंडाका विदुर अधिकारीलाई र ७ हजार पाँचसय राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार हेटौंडाकै सुविज्ञा सुवेदीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हयग्री आचार्यले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष उज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, महासचिव केशवलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।






