हेटौँडा, राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा सुत्केरी श्रीमतीसहित झुप्रोमा बस्दै आएका थिए। खानेकुरा अभाव भएपछि उनी गाउँपालिका कार्यालय पुगेका खबर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उनको पीडा व्यापक रूपमा चर्चामा आयो।
खाना र बस्ने ठाउँकै अभावमा रहेको थाहा पाएपछि गाउँपालिकाले तत्काल राहतस्वरूप दाल, चामल, तेल, नुन, कम्बल, त्रिपाललगायतका सामग्री उपलब्ध गराएको थियो। तर सुमनसिंको परिवारलाई दीर्घकालीन समाधान आवश्यक देखिएपछि अब उनको बसोबासका लागि नयाँ घर बन्ने भएको छ।
साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री तथा सोही क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले आफ्नो व्यक्तिगत तलब–भत्ताबाट अति विपन्न परिवारलाई घर निर्माण गरिदिने घोषणा गरेका थिए। त्यसैअन्तर्गत सुमनसिं प्रजाको घर बनाउन पनि उनले खर्च बेहोर्ने भएका हुन्।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र नेपाली काँग्रेस राक्सिराङका सभापति विरेन्द्र जिम्बालगायतको सिफारिसपछि बुधबार मुख्यमन्त्री बानियाँले दशैँअघि नै दुई कोठा, एउटा भान्छा तथा ट्वाइलेट–बाथरुमसहितको घर तयार गर्नेगरी काम सुरु गर्न निर्देशन दिएका छन्।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार घर निर्माण कार्य यथाशीघ्र सुरु गरिनेछ र दशैँअघि नै हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ। यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारको घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरिसकेका छन्।






