कैलाशका लालकुमार प्रजाको सुरक्षित आवास बन्ने, बानियाँले दिए २ लाख रुपैयाँ

हेटौँडा, मकवानपुरको कैलाश गाउँपालिका–४ धुस्राङ निवासी ५० वर्षीय लालकुमार प्रजा चेपाङको सुरक्षित आवास निर्माण हुने भएको छ। लालकुमार जीर्ण अवस्थामा रहेको घरमा श्रीमतीसँगै बस्दै आएका थिए।

ADVERTISEMENT

सीमान्तकृत तथा अति विपन्न अवस्थामा रहेका उनलाई आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसक्दा असुरक्षित अवस्थामा बस्न बाध्य हुनुपरेको थियो। ०३२ सालमा जन्मिएका लालकुमारका सन्तान छैनन्। उनकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर आंशिक अपाङ्ग भएकी हुन्। उनीहरू २ कट्ठा नम्बरी र करिब ३र४ कठ्ठा ऐलानी जग्गामा कृषि, बाख्रा र कुखुरा पालन गरेर जीविकोपार्जन गर्दै आएका छन्।

लालकुमारको आवास निर्माणका लागि कैलाश गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सिफारिस गरेको थियो। गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस पत्र बुझाएलगत्तै मुख्यमन्त्री बानियाँले पहिलो किस्ता स्वरूप दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

‘सन्तान छैनन्, खरको छानो र काठपातले मात्र बनेको जीर्ण घरमा बस्दै आएका कारण उनीहरूलाई सुरक्षित आवासका लागि सिफारिस गरिएको हो,’ अध्यक्ष मुक्तानले बताए। मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका नागरिक गास, वास र कपासबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए।

पत्र बुझाउने कार्यक्रममा कैलाश गाउँपालिकाका विभिन्न वडाध्यक्ष तथा नेपाली कांग्रेस वडास्तरीय सभापतिहरूको उपस्थिती रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *