हेटौँडा,, बागमती प्रदेशमा पनि ‘बागमती प्रज्ञा प्रतिष्ठान’ र ‘बागमती चलचित्र विकास बोर्ड’ गठन गर्नुपर्ने माग सांस्कृतिककर्मीहरूको समूहले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राखेका छन्।
सांस्कृतिक महासंघका सभापति तीर्थबहादुर थापाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीलाई स्वागत गर्दै औपचारिक मागपत्र बुझाएको हो। मागपत्रमा गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशमा क्रमशः गण्डकी प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान स्थापना भइसकेको सन्दर्भ दिँदै, बागमती प्रदेशले पनि भाषा–साहित्य, ललितकला, संगीत र नाट्य विधालाई समेट्ने ‘बागमती प्रज्ञा प्रतिष्ठान’ तत्काल गठन गर्नुपर्ने उल्लेख छ।
नेपाल सांस्कृतिक महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’का अनुसार, नेपाल चलचित्र विकास बोर्डजस्तै गरी बागमती प्रदेश मातहत ‘बागमती चलचित्र विकास बोर्ड’ स्थापना गर्न पनि माग गरिएको छ। कलाकर्मीहरूसँगको भेटमा मुख्यमन्त्री बानियाँले मागपत्र ग्रहण गर्दै यस विषयमा सकारात्मक ध्यान दिने प्रतिबद्धता जनाएका थिए।







