हेटौंडा, हेटौंडा ५ मा रहेको जेनिथ माध्यमिक विद्यालयले आफ्नो १५ औँ अभिभावक दिवसको अवसरमा शिक्षक, कर्मचारी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ३ जना शिक्षक, ३ जना कर्मचारी र १५ जना अभिभावकलाई सम्मान गरेको हो ।
‘कक्षा नर्सरी देखि १० कक्षा सम्म विद्यालयमा नियमित अध्ययनरत विद्यार्थीका अभिभावक र विद्यालयलाई नियमित सुझाव प्रतिक्रिया दिने अभिभावकलाई दिवसका दिन सम्मान गरेका हौँ ।’ विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले भने ।
भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामामा प्रथम भएकी छात्रा विशाखा पण्डितले विद्यालयले नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरुले साङ्गीतिक नृत्य प्रस्तुत गर्नुका साथै खाना महोत्सव, लोपोन्मुख हुन लागेको डोको, खिम्ची, कुट्टो कोदालोको प्रदर्शनी, विज्ञान प्रदर्शनी, हस्तकला प्रदर्शनी विद्यालयको प्राङ्गणमा प्रस्तुत गरेका थिए । विद्यालयले गतवर्ष २०७९ सालमा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका राष्ट्रिय परिक्षा बोर्ड मकवानपुरका कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले मकवानपुरका विद्यालयले सिक्ने र सिकाउने क्रियाकलापलाई जोड दिनुपर्ने बताए । ‘पछिल्लो समय नेपालका विद्यार्थीहरु वैदेशिक शिक्षाको लागि पलायन भएका छन् । विद्यार्थीलाई बाहिर पठाउनु भन्दा पनि नेपालमै उपयुक्त शिक्षा प्रदान भइरहेको छ ।’ उनले भने –‘विद्यार्थीलाई विदेश पलायन हुनुभन्दा नेपालमै राम्रो शिक्षा प्रदान भइरहेकोले नेपालमै पढाउन अभिभावकसमक्ष आग्रह गर्दछु ।’
विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । मकवानपुरका विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक मात्रै नभई प्रतिभा प्रस्फोटनलगायत अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आइरहेको उनले बताए । कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठ, सनसाइन विद्यालयका प्रिन्सिपल राजकुमार नहर्की, अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, पत्रकार सुजन ढकालको आतिथ्यता रहेको थियो ।






