बागमती प्रदेशका सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु

हेटौँडा, जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका बागमती प्रदेशका सरकारी संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र विज्ञ समूहहरूको संयुक्त टोलीले प्रदेश राजधानी हेटौँडाका विभिन्न मन्त्रालय, कार्यालय र निकायहरूको अवस्थाको मूल्याङ्कन गरिरहेको छ। काठमाडौँबाट आएका दुई जना विशेषज्ञसहितको टोलीले आधुनिक उपकरण प्रयोग गरेर भवनहरूको विस्तृत परीक्षण गरिरहेको मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए।

उनका अनुसार परीक्षणको मुख्य उद्देश्य भवनहरू संरचनागत रूपमा प्रयोगयोग्य छन् वा छैनन् भन्ने निर्धारण गर्नु हो। “यो केवल आँखाले हेर्ने निरीक्षण मात्र होइन, करिब १५ वर्षको अनुभव भएका विज्ञहरूले उपकरणसहित परीक्षण गरिरहेका छन्। त्यसैले हामी परिणामप्रति आश्वस्त छौँ,” सचिव मरहठ्ठाले भने। प्राविधिक टोलीले हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न गरिसकेको र क्षतिको यकिन विवरण एक–दुई दिनभित्र तयार हुने उनले बताए। पहिलो चरणमा हेटौँडाका मुख्य सरकारी भवनहरूको निरीक्षण सकिएपछि टोली जिल्लास्थित अन्य प्रादेशिक कार्यालयतर्फ जाने योजना रहेको छ।

उक्त प्रतिवेदन एक हप्ताभित्र सचिवस्तरीय कार्यदलमा पेस गरिनेछ। त्यसपछि कार्यदलले आवश्यक अध्ययन र नीतिगत पक्ष समेटेर अन्तिम निर्णयका लागि मन्त्रीस्तरीय कार्यदललाई सिफारिस गर्नेछ। सचिव मरहठ्ठाका अनुसार प्रतिवेदनका सिफारिसका आधारमा संरचनागत मर्मत ९रेट्रोफिटिङ० तत्काल सुरु गरिनेछ। सामान्य क्षतिको संरचनागत मर्मत १० देखि १५ दिनभित्र सम्पन्न गर्ने अनुमान गरिएको छ भने बिजुली, एसी, पार्टिसन जस्ता गैर–संरचनागत कामहरू छुट्टै खरिद प्रक्रियामार्फत अघि बढाइनेछ।

प्राविधिक परीक्षण र त्यसपछिको पुनर्स्थापनाले प्रदेश सरकारका कार्यालयहरू सुरक्षित रूपमा सञ्चालन गर्न मद्दत गर्ने र भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणमा स्पष्ट मार्गनिर्देशन गर्ने विश्वास सचिव मरहठ्ठाले व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *