मुख्यमन्त्री बानियाँद्वारा सुविधामा ५० प्रतिशत कटौती, विपन्न नागरिकका लागि खर्चिने घोषणा

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधासम्बन्धी खर्च ५० प्रतिशतले कटौती गर्ने निर्णय गर्नुभएको छ। बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले विगतका मुख्यमन्त्रीहरूले खर्च गर्दै आएको सुविधा मदिरामा आधा कटौती गरिने बताउनुभयो। सो निर्णयमार्फत सुशासन, पारदर्शिता र जवाफदेही सरकार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ADVERTISEMENT

मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकमै यस विषयमा निर्णय गर्दै, कटौती गरिएको रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको घर निर्माणमा खर्च गर्ने घोषणा गर्नुभयो। विशेष गरी मकवानपुर क्षेत्र नम्बर २ (ख) का गरिब तथा असहाय नागरिकका घर निर्माण कार्य आगामी दशैँअघि सम्पन्न गर्ने योजना रहेको बताइएको छ।

त्यस्तै, आगामी मन्त्रिपरिषद् बैठकमा गरिब र सीमान्तकृत समुदायलाई लक्षित छात्रवृत्ति वितरण गर्ने निर्णय पनि हुने जानकारी उहाँले दिनुभयो। यसले शिक्षा प्राप्त गर्न संघर्षरत वनकरिया, थामी, चेपाङ, जिरेल, पहरीलगायतका समुदायलाई सहयोग पुग्ने उल्लेख गरिएको छ।

मुख्यमन्त्री बानियाँले विपद् व्यवस्थापन र पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राख्दै सरकार नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही बन्ने विश्वास व्यक्त गर्नुभयो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *