धान भित्र्याउने चटारोमा मकवानपुरे किसान

हेटौंडा, चाडपर्व सकिएसंगै उम्मेदवार तथा नेता कार्यकर्ताहरु चुनावी अभियानमा सक्रिय रहँदा मकवानपुरका किसान भने अहिले धान काट्ने र भित्र्याउने चटारोमा रहेका छन् । तिहार सकिएलगत्तै मकवानपुरका किसानहरु धान भित्र्याउने व्यस्त रहेका हुन् । चाडपर्व सकिएसँगै खेतबारीमा धान पाकेकोले गर्दा धान भित्र्याउने चटारो भएको छ । धानमा केही बाला सुकेको समस्याले किसान चिन्तित पनि छन् ।

ADVERTISEMENT

हिजोआज धान काट्ने र भित्र्याउने चटारो निकै बढेको मकवानपुरगढीका किसान श्याम सापकोटा बताउँछन् । किसानहरुलाई कुनै बेलामा पानी पर्ने होकी भन्ने चिन्ता पनि छ । धान काटेर खेतमा तीन चारदिन सम्म सुकाउनुपर्ने भएकाले त्यसबेलामा पानी नपरिदिने हुन्थ्यो भन्ने उनीहरुको चाहना छ । फेरि गत वर्षजस्तै पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित उनी हतार हतार काम गरिरहेका छन् । उनी मात्र नभई जिल्लाका अधिकांश भेगमा वर्षातको समयमा लगाएको धान पाकेर पहेँलपुर भएपछि चाडपर्व सकिने बित्तिकै किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याइ भएको छ । दशैंताका सातासम्म परेको अविरल पानीले धानका बाला कालो भएपनि खासै समस्या नदेखिएको किसानहरु बताउँछन् ।

गत वर्षसम्म दुईचार दिन बिराउँदै पोकेको धानबाली काट्ने र झाट्ने गरिन्थ्यो । गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो । यसपालि पनि बर्षात हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनुपरेको किसानहरु बताउँछन् ।

धान चुट्न थ्रेसरको प्रयोग

आधुनिक मेसिन थ्रेसरको प्रयोग गरी अहिले धान चुट्ने गरिन्छ । पछिल्लो समय किसानले दाइँका लागि थ्रेसर मेसिनको प्रयोग गर्दै आइरहेका छन् । ज्याला मंहगो हुनुका साथै धान चुट्ने र पछि दाइँ गर्ने चलन हराउदैं गएपछि थ्रेसर मेसिनबाट धान झार्ने गर्ने गरेको मकवानपुरगढी गाउँपालिका ५ सिमलटारका प्रेमप्रसाद दुलालले बताए ।

Advertisement 5

उनी भन्छन, ‘चार पाँच घर मिलेर सबैको एकैसाथ थ्रेसर प्रयोग गरी धान झार्दा पराल पनि सफा आउने धान पनि सफा आउँछ । दाइँ गर्नुपर्ने झन्झट पनि नहुने एकैसाथ सबै काम छिटो छरितो हुने भएकाले पनि होला हामीले अहिले मेसिन प्रयोग गर्ने गरेका छौं ।’ थ्रेसर मेसिनको प्रयोगबाट पैसा र समयको बचत हुने गरेको किसानहरुको भनाइ रहेको छ । थ्रेसर मेसिन प्रयोग गर्दा प्रतिघन्टा २ हजार देखी तीन हजारसम्म रकम तिर्ने गरेका छन् ।

विशेषगरी मकवानपुरको हटिया हर्नामाडी, मनहरी, बकैया, बागमती गाउँपालिकाका क्षेत्रहरुमा थ्रेसर लगाएरै धान चुट्ने गरेको पाइन्छ । सडक सञ्जाल नभएका स्थानमा भने स्थानीय किसानहरुको पुरानै पराम्परा खलो बनाई धान चुटने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *