हेटौँडा, साहित्य सङ्गम मकवानपुरले आफ्नो दुई वर्षे कार्यकालमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। संस्थाका अध्यक्ष डीवी बर्तौलाका अनुसार दुई वर्षे अवधिमा २५ वटा नियमित सन्ध्या र ३३ वटा अतिरिक्त कार्यक्रम गरी कुल ५८ वटा कार्यक्रम सम्पन्न भएका छन् ।
सङ्गमले दुई वर्षमा राष्ट्रिय कविता प्रतियोगिता (दुई पटक), लघुकथा उत्सव २०८१, सङ्गम साहित्य उत्सव २०८२, प्रदीप ज्ञवाली शीतबिन्दुको एकल कविता वाचन (६ सय भन्दा बढीको उपस्थितिमा), जीवन शर्माको एकल साहित्यिक साँझ, साथै श्रवण मुकारुङ, विप्लव प्रतीक र मोमिला जस्ता सशक्त कविहरूको फरक–फरक समयमा एकल कविता वाचन लगायतका सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरेको छ। त्यसैगरी, सङ्गमले पुष्पलाल स्मृति पुस्तकालयको लामो समयदेखिको खानेपानीको २ लाख २२ हजार रुपैयाँ बक्यौता भुक्तानी गरेको छ।
सङ्गमले आफ्नो दुई वर्षे कार्यकाललाई विशेष साधारणसभामा विधान संशोधन गरेर तीन वर्षे कार्यकालमा रूपान्तरण गरेको छ। यही असोज ३१ गते हुने १७ औँ अधिवेशनबाट नयाँ कार्यसमितिको अवधि तीन वर्षको हुनेछ। हाल सङ्गममा २ सय २६ जना सदस्य आबद्ध छन्, जसमा ३ जना मानार्थ सदस्य, ७० जना आजीवन सदस्य, १२७ जनाले सदस्यता नवीकरण गरेका छन् भने २६ जना नयाँ सदस्य थपिएका छन्।
साहित्य सङ्गमले स्थापना गरेको अक्षयकोषमा हालसम्म ७ लाख ७४ हजार ७७० रुपैयाँ संकलन भएको छ भने आजीवन सदस्यबाट २ लाख १० हजार रुपैयाँ प्राप्त भएको छ। अक्षयकोषको ब्याजबाट साहित्य सन्ध्या, पुस्तक विमर्श, रचनावाचन लगायतका नियमित कार्यक्रम र आन्तरिक खर्च व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको थियो ।
यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघको ५८ औँ साधारणसभामा नगद २५ हजार रुपैयाँसहित साहित्य सङ्गम मकवानपुरलाई अग्रणी साहित्य संस्था रुपमा सम्मान गरिएको थियो। नेपाली भाषा साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप डीवी बर्तौलाको अध्यक्षतामा रहेको सङ्गमलाई यो सम्मान प्रदान गरिएको थियो।