हेटौंडा, सूर्य उपासना र पवित्रता–संयमको प्रतीक छठ पर्वको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी मनाइँदैछ । हेटौंडामा पनि यस पर्वको रौनक छाएको छ । हेटौंडा–१ राप्ती तटमा यो वर्ष पनि भव्य रूपमा छठ पर्व मनाउनका लागि तयारी तीव्र रूपमा भइरहेको छ ।
संयुक्त मधेसी सेवा समाज नेपालका अध्यक्ष रवि रञ्जन गुप्ताका अनुसार सोमबार बिहान १० बजेसम्म छठ पर्वका सम्पूर्ण तयारी पूरा हुनेछन् । उनका अनुसार हाल बाटो सिँगार्ने र मूर्तिहरूमा रङ लगाउने काम मात्र बाँकी छ ।

राप्ती खोलाको किनारमा प्रत्येक वर्ष सरसफाइ गरी छठ पर्व मनाइँदै आएको छ । यस वर्ष पनि भक्तजनहरूको सुविधाका लागि टेन्ट हालेर ६५० फिट लामो पण्डाल निर्माण गरिएको छ । साथै मनोरञ्जनका विभिन्न स्टलहरू पनि राखिने व्यवस्था मिलाइएको छ ।
गुप्ताका अनुसार सोमबार साँझ अस्ताउँदो सूर्यको उपासनाका क्रममा करिब ६५ हजारभन्दा बढी भक्तजनले छठको अवलोकन गर्ने अनुमान गरिएको छ ।
संयुक्त मधेसी सेवा समाजको मुख्य आयोजनामा हुँदै आएको छठ पर्व विशेष रूपमा तराई क्षेत्रका समुदायबीच मनाइने भए पनि पछिल्ला वर्षहरूमा हेटौंडा लगायतका पहाडी क्षेत्रहरूमा पनि यसको लोकप्रियता बढ्दै गएको छ । मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व राख्ने यो पर्व अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सम्पन्न गरिन्छ ।







