हेटौँडा, तेस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको फाइनलमा पटिहानी इभेन्टस् र मकवानपुरगढी जेसीज भिड्ने भएका छन् । चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी ४ स्थित गोलघर खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल्ने टोलीको टुंगो लागेको हो ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा पटिहानी इभेन्ट्सले गुरुशिष्य पाठशालालाई हराएसंगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो । यो संस्करणमा उपाधिका लागि साविक विजेता मकवानपुरगढी जेसीजसँग पटिहानी इभेन्ट्स भिड्ने भएको छ । बिहीबार भएको अन्तिम सेमिफाइनलमा पटिहानीले गुरुशिष्यलाई १–० को सांघुरो गोल अन्तरले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा सामुयल सुनारले गरेको गोल नै निर्णायक बन्यो । उनले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको हो । खेलको म्यान अफ द म्याच समेत निर्णायाक गोलकर्ता सुनार नै घोषित भए । पटिहानी र मकवानपुरगढी जेसीजबीचको फाइनल खेल भोली १ गते शनिबार दिउँसो २ बजे हुनेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मकवानपुरगढी जेसीजले कमाने फुटबल एकेडेमीलाई सडनडेथमा स्तब्ध पार्दै फाइनलमा स्थान बनाइसकेको छ । असोज २३ गतेबाट सन्चालन भैरहेको प्रतियोगितामा मकवानपुर र चितवनका गरी १३ वटा क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए । मनहरी गाउँपालिका ४ नम्बर वडाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सहयोगी संस्थाको रुपमा मनहरी गाउँपालिका ५ नम्बर वडा, मनहरी गाउँपालिकाको कार्यालय, सानाकिसान कृषि सहकारी संस्था हाँडीखोला लगायतका संस्था रहेका छन् ।







