हेटौँडा, नेकपा एमालेका नेता महेश कुमार बर्तौलाले वर्तमान सरकारले तोकिएको मितिमा निर्वाचन गराउन नसक्ने दाबी गरेका छन्। शनिबार नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्याली तथा जनसभालाई सम्बोधन गर्दै उनले सरकार चुनाव गराउन सक्षम नभएको आरोप लगाए।
संसद् पुनर्स्थापनामै देशको समाधान रहेको बताउँदै बर्तौलाले भने, ‘संवैधानिक, अलोकतान्त्रिक र अवैध सरकारमार्फत देश चलिरहेको छ। संसद् पुनर्स्थापना गरेर अघि बढ्नु बाहेक विकल्प छैन।’ उनका अनुसार एमाले निर्वाचनको पक्षमै छ तर संवैधानिक बाटोबाट मात्र चुनावी प्रक्रिया अघि बढ्नुपर्नेमा पार्टी अडिग छ। उनले भने, ‘हामी निर्वाचनमै जाँदैनौँ भनेका होइनौँ। संसद् पुनर्स्थापना भएपछि जेनजीलाई समेटेर संविधान संसोधन गर्छौँ र त्यसपछि निर्वाचनमा सहभागी हुन्छौँ।’
अन्य राजनीतिक दलहरूले संसद् पुनर्स्थापनामा चासो नदेखाएको आरोप लगाउँदै उनले देशमा एकातिर एमाले र अर्कातिर सबै दलहरू मिलेर आफूहरूमाथि आक्रमण गरिरहेको टिप्पणी गरे। “एमाले एक्लै परे पनि संविधान र राष्ट्रका पक्षमा दृढ भएर उभिन्छ,” उनले भने।
भ्रष्टाचारका मुद्दामा एमालेका नेताहरूलाई लक्षित गर्दै गलत भाष्य सिर्जना भइरहेको आरोप लगाउँदै बर्तौलाले आरोप–प्रत्यारोप होइन, प्रमाणसहित छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई चुनौती दिए। ‘एमालेका नेतासँग सम्बन्धित कुनै पनि मुद्दा छन् भने सरकारले छानबिन अघि बढाओस्, हामी सहयोग गर्छौं,’ बर्तौलाको भनाइ थियो।






