हेटौँडा, बागमती प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट (बर्खे) अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
बैठकले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।
सरकारले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंसिर ३ गते बुधबार रातको ११ः५९ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको उनले बताए। सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन बोलाउने तयारी गरेको उनको भनाइ छ।






