एकताबद्ध कांग्रेसले मुलुकका समस्या समाधान गर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले एकताबद्ध नेपाली कांग्रेसले मुलुकका समस्या समाधान गर्न सक्ने बताएका छन्। नेपाली कांग्रेस मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी वडा इकाई समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकता नै राजनीतिक स्थिरता र विकासको आधार हुने बताए।

ADVERTISEMENT

नेपाली कांग्रेस बागमतीका प्रदेश सभापतिसमेत रहेका बानियाँले देश निर्वाचनतर्फ अघि बढिरहेकाले पार्टीभित्र अनावश्यक द्वन्द्व र विवादमा नअलमलिन आग्रह गरे। ‘पार्टीले योग्य व्यक्तिलाई उम्मेदवार बनाउँछ। टिकट नपाएपछि अन्तरघातमा लाग्नु हुँदैन, यसले पार्टी कमजोर बनाउँछ,’ उनले भने। उनले लोकतन्त्रका लागि भएका आन्दोलनदेखि २००७ सालको प्रजातन्त्र प्राप्ति, ३० वर्षे निरङ्कुश पञ्चायतको अन्त्य तथा माओवादी जनयुद्धको समापनसम्मका महत्वपूर्ण चरणमा कांग्रेसको नेतृत्व रहेको उल्लेख गरे। अब आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने विश्वास उनले प्रकट गरे।

जनताको सेवाका लागि नै कांग्रेस पार्टी गठन भएको बताउँदै मुख्यमन्त्री बानियाँले जनतामाझ गएर काम गर्न नेताहरूलाई सुझाव दिए। उनले मकवानपुर र ललितपुर जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाए।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस सबैलाई समेट्न सक्षम पार्टी भएको भन्दै विकासमा भेदभाव हुन नहुने टिप्पणी गरे। बाटो, पुललगायत विकासका योजनाको नेतृत्व कांग्रेसले नै गर्ने दाबी उनले गरे।

कार्यक्रममा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो। कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, क्षेत्रीय सभापति दामोदर खनाललगायतको उपस्थिति रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *