मनहरी गाउँपालिकाले गर्यो धानबाली बीमा

हेटौँडा, जिल्लामै पहिलोपटक धानबाली बिमा गराएको मकवानपुरको मनहरी गाउँपालिकाका कृषकले बाली क्षतिबापतको बिमा रकम प्राप्त गरेका छन् । मनहरी गाउँपालिकाले शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी गाउँपालिका क्षेत्रका किसानको गत असारमा धानबालीको बिमा गराएका थियो । धानबाली बिमा गराएका किसानमध्ये १९ जनाले १ लाख ३३ हजार रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले धानबाली बिमाको क्षतिबापतको रकम किसानलाई हस्तान्तरण गरेका हुन् । बिमा सुरु गरेको पहिलो वर्ष गाउँपालिका क्षेत्रका ५२ जना किसानले धानबाली बिमा गराएका थिए । जसमध्ये गत असोजको वर्षामा डुबान, फड्के किराको प्रकोपलगायतका कारण क्षति भएको भनी १९ जनाले बिमा रकम दाबी गरेका थिए । बिमा दाबी गर्नेहरुको क्षतिको मूल्यांकन गरी बिमा कम्पनीले एकै किसानलाई ३५ हजार रुपैयाँसम्म भुक्तानी दिएको छ ।

ADVERTISEMENT

अन्नबालीमा किरा तथा अन्य रोगको प्रकोप, डुबान, वन्यजन्तुको क्षतिलगायतका कारण अन्नबाली उत्पादनमा क्षति हुनाले किसान मर्कामा परिरहेकाले अन्न उत्पादन नभएका कारण किसानलाई हुने हानी नोक्सानीको क्षतिपूर्ति भराउने उद्धेश्यले गाउँपालिकाले यस वर्षबाट बाली बिमा कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए । धानबाली बिमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । सबै किसानहरुलाई बिमा कार्यक्रममा जोडिन गाउँपालिकाले आह्वान गरेकोमा ३, ६, ७ र ९ नम्बर वडाका किसानले मात्रै बिमा गराएका थिए । बाली बिमा गर्दा कुल बिमाङ्क रकमको ८० प्रतिशत रकम गाउँपालिकामार्फत संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम किसान आफैँले बेहोर्नुपर्नेछ ।

बाली बिमाको २० प्रतिशत बिमाङ्क रकमसमेत तिर्न नसक्ने विपन्न किसानको बिमाङ्क भुक्तानी गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याइएको अध्यक्ष कालाखेतीको भनाइ छ । बाली बिमालाई अझ व्यवस्थित गर्नुका साथै धेरै किसानलाई समेट्नेगरी गाउँपालिकाले योजना बनाएको उनको भनाइ छ । बाली बिमाको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले सबै किसानहरुलाई बाली बिमा गराएर क्षतिको जोखिम कम गर्न आह्वान गरे । गाउँपालिकाले धानबालीसँगै अब मकै र तरकारी बालीको पनि बिमा सुरु गर्न लागेको जनाएको छ । बिमा कार्यक्रमलाई व्यवस्थित गर्न र क्षतिबारे मूल्यांकन गर्नको लागि शिखर इन्स्योरेन्स कम्पनीले मनहरी गाउँपालिकाका लागि छुट्टै कृषि प्राविधिकको व्यवस्था गर्न लागिएको कम्पनीका हेटौँडा शाखा प्रमुख प्रमोद पोखरेलले जानकारी दिए । बिमा रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृ रमेश सुवेदी, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *