प्राधिकरणको निर्देशन पालना गर्दै मित्रमिलनको २६ औँ साधारणसभा सम्पन्न

हेटौडा, हेटौँडा ४ मा रहेको श्री मित्र मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनको पूर्ण पालना गर्दै आफ्नो २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारी नियमन प्राधिकरणले गत भदौ १७ गते बचत तथा ऋण सहकारीको साधारणसभालाई मितव्ययी र सदस्य केन्द्रित गर्न जारी गरेको ८ बुँदे निर्देशन बमोजिम संस्थाका शेयर सदस्यहरूको मात्र उपस्थितिमा साधारणसभा सम्पन्न गरेको सचिव भोगेन्द्र लुईटेलले बताए ।

ADVERTISEMENT

प्राधिकरणले सम्बिन्धत सहकारीको सदस्य नभएको तथा नियमन निकायका कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी नगराउने, उद्घाटनसत्र, आसनग्रहण, मन्तव्यलगायतका औपचारिक समय व्यतीत गर्ने क्रियाकलाप नगरी सिधै साधारणसभाको एजेण्डामा प्रवेश गर्ने, अतिथि सत्कार, यातायात खर्चलगायतका फजुल खर्च नगर्न सबै बचत तथा ऋण सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । सभामा संस्थाका सदस्यहरूले प्राधिकरणले जारी गरेको यातायात खर्च नदिन गरेको निर्देशनप्रति भने असहमति जनाएका थिए ।

साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन एवम् लेखा सुपरीवेक्षण समितिका प्रतिवेदन गहन छलफलसहित विभिन्न १० वटा प्रस्तावहरु पारित गरेको छ । संस्था अध्यक्ष भोलाप्रसाद शर्मा खरेलले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक राजकुमार जोशीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

८१७ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पूँजी १ करोड ४२ लाख ५५ हजार ८ सय रुपैयाँ, बचत २ करोड ३७ लाख ८७ हजार ७ सय ४४ रुपैयाँ, ऋण लगानी ६ करोड ३ लाख ८ हजार३ सय ८६ रुपैयाँ र जगेडा कोषमा ९५ लाख ८२ हजार ३ सय ८३ रुपैयाँ रहेको छ । कार्यक्रममा जेष्ठ सदस्यतर्फ बुद्धिनाथ खतिवडा र शारदा देवी उप्रेतीलाई सम्मान गरेको थियो । यसैगरी असल ऋणीमा अजयकुमार श्रीवास्ताव, शंकुर पुरी र एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छात्र र छात्रालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत आकृति थिङलाई गरिव तथा जेहेन्दार छात्रा पुरस्कार प्रदान गरिएको थियो । संस्था अध्यक्ष खरेलको सभाध्यक्षतामा भएको साधारणसभामा संस्था सञ्चालक समित, लेखा समिति , शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *