तेस्रो राष्ट्रिय पर्याकविता उत्सवमा मकवानपुरका किशन पौडेल प्रथम

हेटौँडा, साहित्य संगम मकवानपुरको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता उत्सवमा मकवानपुरका कवि किशन पौडेल प्रथम भएका छन्। पौडेलले ‘दोहन’ शीर्षकको कविताबाट प्रथम स्थान हासिल गर्दै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

ADVERTISEMENT

यसैगरी, कैलालीका कवि मोहित जोशीले ‘समयको अन्त्यको किनारामा उभिएर’ शीर्षकको कविताबाट द्वितीय स्थान हासिल गर्दै २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यस्तै, सुनसरीका कवि किरण सिवाको ‘मौन प्रकृति’ शीर्षकको कविताले तृतीय स्थान हासिल गरेको छ।

काठमाडौँकी कवि यशोधा अधिकारीको ‘धरतीको विघटन’ तथा तनहुँका कवि नरोत्तम श्रेष्ठको ‘बिउको रक्तिम घोषणापत्र’ शीर्षकका कविताहरू सान्त्वना पुरस्कारका लागि छनोट भएका छन्। तृतीय स्थान प्राप्त गर्ने कविले १० हजार रुपैयाँ तथा सान्त्वना पाउने कविहरूले जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

देशभरबाट प्राप्त १६४ वटा कवितामध्ये उत्कृष्ट १० कविका कविता अन्तिम चरणमा वाचन गरिएको थियो। कार्यक्रम साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी लामाले कविता नेपाली साहित्यको सबैभन्दा पुरानो र प्रभावशाली विधा भएको उल्लेख गर्दै कविताले जीवन, समाज, देश र भविष्य देखाउन सक्नुपर्ने बताउनुभयो। उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदान स्मरण गर्दै उहाँका कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नुभयो। देवकोटाको प्रसिद्ध कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ उद्धृत गर्दै यसले नेपाली समाजको चेतनामा ठूलो प्रभाव पारेको नगर प्रमुख लामाले उल्लेख गर्नुभयो।

साहित्य संगम मकवानपुरको ३९औँ वार्षिकोत्सवको अवसरमा ‘नेपाली साहित्यमा पर्यावरण चेतनाको भूमिका’ विषयमा बहस कार्यक्रम पनि आयोजना गरिएको थियो। संगमका पूर्व अध्यक्ष तथा सल्लाहकार सुवास खनालको सहजीकरणमा सम्पन्न बहस कार्यक्रममा पर्यावरण साहित्य अभियन्ता तथा वातावरणविद् विजय हितान, अंग्रेजी तथा नेपाली साहित्य लेखन प्रशिक्षक तथा भाषाविद् ईश्वर कडेल तथा समालोचक डा. घनश्याम घिमिरेले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देललगायत विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *