प्रगतिले चुम्यो सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि प्रगति माध्यमिक विद्यालयले जितेको छ।

ADVERTISEMENT

आज भएको फाइनल खेलमा प्रगतिले रस्सल एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो। शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को संयोजन तथा श्रमिक माध्यमिक विद्यालय, हेटौँडा–४ को व्यवस्थापनमा आयोजित प्रतियोगितामा नगरभित्रका २३ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा विजेता प्रगति माध्यमिक विद्यालयले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रस्सल एकेडेमीले नगद ३ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। सेमिफाइनलमा प्रवेश गर्ने अन्य टोलीहरूलाई समेत नगद २ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

वडास्तरीय तेस्रो खेलकुद महोत्सव अन्तर्गत श्रमिक माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए। उनले शिक्षा र खेलकुदलाई वडाको प्राथमिकतामा राख्दै यस्ता गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए। वडाध्यक्ष सिग्देलले आगामी दिनमा पनि वडा कार्यालयले शिक्षा तथा खेलकुद प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *