हेटौंडा, ८ असार/नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरले शिक्षाक्षेत्रमा भएको विविध समस्याहरुको समाधान गर्दै संविधानत निशुल्क शिक्षा लागु गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बुधबार हेटौंडा उपमहानगरपालिकामा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सूर्य बहादुर गोलेको नेतृत्वको समूहले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा र उप मेयर राजेश बानियाँ मार्फत बुझाइएको हो ।
सामुदायिक र निजि विद्यालयको नाममा भैरहेको विभेदकारी शिक्षालाई समान शिक्षाको रुपमा लागु गर्नु राज्यको दायित्व भएता पनि राज्य सन्चालकहरुले उक्त दायित्वबोध नगरेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा ३१ को उपधारा २ मा उल्लेख गरे अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको निशुल्क शिक्षा लागू गर्न समेत जोड्दार माग गरेको छ ।
दिनप्रतिदिन पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि घटाउन र अन्य उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धिको असर न्यूनीकरण गर्न तत्काल पहल गर्न पनि ज्ञापनपत्र मार्फत उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । संविधानमै व्यवस्था गरेको शैक्षिक अधिकार तत्काल लागु गर्न, गराउन पहल नगरे अखिल (क्रान्तिकारी) कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ ।








