हेटौंडा, लागूऔषध नियन्त्रणका लागि अब स्थानीय सरकारले समेत प्रत्यक्ष लगानी गरेर काम गर्नुपर्ने हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले बताएकी छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सोमबार हेटौंडामा आयोजित लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको उद्घाटन गर्दै मेयर लामाले लागूऔषध नियन्त्रण थुनेर मात्र सम्भव नहुने स्पष्ट पारिन्।
सबै क्षेत्रको सहकार्य र व्यापक जनचेतनाबाट मात्र यसको न्यूनीकरण सम्भव हुने उनको भनाइ थियो। लागूऔषधका कारण हेटौंडामा ठूलो चुनौती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मेयर लामाले यसलाई नियन्त्रण गर्नु आजको अत्यन्तै आवश्यक विषय भएको उल्लेख गरिन्। स्थानीय तहले सचेतनामूलक कार्यक्रम, पुनःस्थापना तथा रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषधका कारण हेटौंडाको अवस्था दिनानुदिन भयावह बन्दै गएको बताए। लागूऔषध नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकार दुवै सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले लागूऔषधकै कारण जिल्लामा अन्य आपराधिक घटनासमेत तीव्र रूपमा बढिरहेको बताए। हेटौंडा लागूऔषध ओसारपसारको ट्रान्जिट बिन्दु बन्दै गएकोतर्फ समेत उनले सरोकारवालाको ध्यानाकर्षण गराए।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले लागूऔषधसहित पक्राउ गर्ने कार्य निरन्तर रूपमा भइरहेको जानकारी दिए। अबका दिनमा यसको न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गरे मात्र सफलता हासिल गर्न सकिने उनको भनाइ थियो। लागूऔषध नियन्त्रणका कार्यमा मकवानपुर जिल्लालाई प्रदेश प्रहरी कार्यालयबाट सक्दो सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकारले टोल–टोलमा संयन्त्र निर्माण गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए। सडक निर्माणलाई मात्र विकास नठान्न आग्रह गर्दै उनले लागूऔषधका कारण समाज भयावह बन्दै गएकाले यसको नियन्त्रणमा स्थानीय सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले लागूऔषधका कारण मकवानपुर जिल्लामा भएका विभिन्न अपराधसम्बन्धी तथ्याङ्क प्रस्तुत गरेका थिए। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपाने, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राधासागर गुरागाईं लगायतले पनि लागूऔषध नियन्त्रणमा सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडा अध्यक्ष तथा सदस्यहरू, विद्यालयका शिक्षक, यातायात व्यवसायी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।






