पौष २६ गते थाहा दिवस मनाइने

हेटौँडा, यही पौष २६ गते थाहा दिवस विभिन्न कार्यक्रमसहित मनाइने भएको छ। दिवङ्गत रुपचन्द्र बिष्टको जन्मजयन्तीको अवसर पारेर विगत डेढ दशकदेखि फरक सोच अभियानद्वारा थाहा दिवस मनाउँदै आइएको हो। यस वर्ष रुपचन्द्र बिष्टको ९२औँ जन्मजयन्तीको अवसरमा थाहा पत्रकारिता पुरस्कार–२०८२ तथा तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान–२०८२ प्रदान गरिने फरक सोचका अभियन्ता रामकुमार कार्कीले जानकारी दिनुभयो।

ADVERTISEMENT

थाहा पत्रकारिता पुरस्कार मकवानपुरका सक्रिय पत्रकारलाई निरन्तर प्रदान हुँदै आएको प्रतिष्ठित पुरस्कार हो। विसं २०७२ सालमा पहिलोपटक मकवानपुरका वरिष्ठ पत्रकार प्रताप बिष्टलाई प्रदान गरिएको उक्त पुरस्कार पछिल्लो वर्ष अन्नपूर्ण पोस्टकी वरिष्ठ पत्रकार ममता थापालाई प्रदान गरिएको थियो। यो पुरस्कार ताम्रपत्रसहित ११ हजार रुपैयाँ नगदसहित प्रदान गरिँदै आएको छ।

पुरस्कारस्वरूप प्रदान गरिँदै आएको नगद रकम हालसम्म प्रताप बिष्टले सहयोग गर्दै आउनुभएकोमा यस वर्षदेखि उक्त रकम थाहा नगरपालिका–२ का समाजसेवी माधव कार्कीले उपलब्ध गराउने अभियन्ता कार्कीले बताउनुभयो।

त्यसैगरी तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान थाहा नगरको प्रचार–प्रसार, प्रवर्द्धन, उन्नयन तथा सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ। यस सम्मानबाट यसअघि चलचित्र निर्देशक शोभित बस्नेत तथा पर्यटन क्षेत्रमा होटल अध्याय, पानोरमा र सुनगाभा अर्चिड रिसोर्टलगायतलाई सम्मान गरिसकिएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *