हेटौँडा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरको आयोजनामा भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिताको उपाधी छात्रातर्फ नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय र छात्रतर्फ ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयले जितेको छ ।

आज भएको छात्रातर्फको फाइनल खेलमा नवोदय शिशु सदनले ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयलाई ३–२ सेटले पराजित गर्दै उपाधि चुमेको हो। नवोदयले पहिलो र दोस्रो सेट २५–२१, २५–२१ ले जितेको थियो। त्यसपछि तेस्रो र चौथो सेट २५–२३ र २५–१५ ले जित्दै ज्ञानोदयले उत्कृष्ट पुनरागमन गर्यो। निर्णायक पाँचौँ सेटमा नवोदयले १५–११ को जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो। उक्त खेलमा नवोदयकी सुनिता बानियाँ ‘म्यान अफ द म्याच’ घोषित भइन्।
यस्तै, छात्रतर्फको फाइनल खेलमा ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयले सुनगाभा शिक्षा निकेतन विद्यालयलाई २५–१३, २५–११ र २५–७ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। उक्त खेलमा ज्ञानोदयका बिनायक गौतम ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा छात्रातर्फ जीएस निकेतन माध्यमिक विद्यालय र छात्रतर्फ ज्ञानोदय एकेडेमी तेस्रो भएको थियो । प्रतियोगितामा विजयी भएका टिमलाई प्याव्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, प्याव्सन मकवानपुरका सल्लाहकार मदन दाहालले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।







