हेटौंडा, हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउँदै छ ।
विद्यालयले आगामी माघ २ गतेदेखि साताव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।
स्वर्ण महोत्सवको तयारीका बारेमा मङ्गलबार विद्यालय हलमा आयोजित पत्रकार सम्मेलनमा स्वर्ण महोत्सव तयारी मूल आयोजक समितिका संयोजक एवं हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले शैक्षिक विकास र गुणस्तरीय शिक्षा सिद्धार्थ माविको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
स्वर्ण महोत्सव मनाउने अवस्थामा पुग्नु गौरवको विषय भएको भन्दै उहाँले भन्नुभयो भव्य भवन बनेर मात्र नहुने र गुणस्तरीय शिक्षाले प्राथमिकता पाउनुपर्छ ।
उहाँले विद्यालयको भौतिक पूर्वाधारमा सुधारसँगै शिक्षामा प्रविधिको प्रयोगमा जोड दिने गरी काम सुरु गरिएको बताउनुभयो ।






