हेटौँडा,मकवानपुरको कैलाश गाउँपालिकाले आन्तरिक स्रोततर्फ २ करोड ५१ लाख रुपैयाँ थप गरी संशोधित बजेट पारित गरेको छ। बिहीबार बसेको गाउँपालिकाको १७औँ गाउँसभाले उक्त संशोधित बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा प्रस्तुत गरेको बजेट कार्यक्रमलाई अध्यक्ष लोकबहादुर मुक्तानले निर्णायार्थ पेश गरेका थिए। कार्यपालिका सदस्यहरूले बजेटलाई सर्वसम्मत पारित गरेका हुन्।
संशोधित बजेटअनुसार चालु खर्चतर्फ आन्तरिक स्रोतबाट ९ करोड ४२ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १५ करोड ४८ लाख रुपैयाँ गरी कुल २४ करोड ९१ लाख रुपैयाँ कार्यान्वयनमा जानेछ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको हो।
यसअघि गत असार १० गते गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँको बजेट ल्याएको थियो। उक्त बजेटमा समावेश विशेष तथा सशर्त अनुदानतर्फको रकममा भने कुनै संशोधन गरिएको छैन। संशोधन प्रक्रियामा १७ वटा आयोजना कटौती तथा हटाइएका छन् भने ४३ वटा नयाँ योजना थप गरिएको छ। साथै १४ योजनाको बजेट घटाइएको र ४ योजनाको बजेट बढाइएको छ।
गाउँसभामा विधायन समितिका संयोजक भूवनसिं घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक, बेरुजु फस्र्यौट कार्यविधि २०८२, लेखा समिति गठन तथा सञ्चालन कार्यविधि र गाउँसभा सचिवालय स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि प्रस्तुत गरेका थिए। उपाध्यक्ष मल्लले चालु आर्थिक वर्षको विनियोजन ऐन, बजेट तथा कार्यक्रमको संशोधित अनुमानसम्बन्धी विभिन्न एजेन्डा पनि पेश गरेका थिए।
चेली प्रोत्साहनसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मानित
गाउँसभामा चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा भएपछि विवाह गर्ने ७ जना चेलीहरूलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा कैलाश–९ की आइस्का थापा, कैलाश–१० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश–१ की विमला थापामगर र रीता थापामगर, कैलाश–२ की पुष्पा प्रजा तथा कैलाश–५ की सिर्जना दर्लामी मगर रहेका छन्।
त्यस्तै स्वास्थ्य, प्रशासन, प्राविधिक, शिक्षा, सञ्चार, निर्माण व्यवसाय, उपभोक्ता समिति, मेडपा उद्यमी तथा कृषक क्षेत्रका कर्मचारी र व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको थियो। शिक्षा क्षेत्रतर्फ एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी तथा सेवा निवृत्त र कार्यरत शिक्षक–कर्मचारीहरूलाई समेत सम्मान गरिएको छ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, प्रशासन, सञ्चार र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।






