हेटौंडा, स्क्रयाबल क्लव पोखराको आयोजना तथा स्क्रयाबल क्लव मकवानपुरको संयोजनमा आइतबार हेटौंडामा तेस्रो जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगिता भएको छ । हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगितामा मकवानपुरका ५ जना विद्यार्थी राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन्।
छनौट हुनेमा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रशिद्ध तिमल्सिना र आरुष राजथला, युनाइटेड इङ्लिस बोर्डिङ स्कूल मनहरीका प्रकृति सेढाई, वंशगोपाल माध्यमिक विद्यालयका गौरभ श्रेष्ठ र नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका चिराग डंगोल रहेका छन् । बालजागृति विद्यालयका तिमल्सिना गत वर्ष बङ्गलादेशमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै स्क्रयाबल प्रतियोगितामा सहभागीता जनाएका थिए । जिल्लाबाट छनौट भएका विद्यार्थीहरुले कार्तिक १५ गते सिमरामा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

स्क्रयाबल क्लव मकवानपुरका संयोजक विवश जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका रिमालले अबको शिक्षा गतिविधि र अनुसन्धानमा आधारित सिकाइमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका थिए ।
‘स्क्रयाबल खेलले अङ्ग्रेजी शब्द सिक्न र चयन गर्नमा विकास गर्दछ ।’ स्क्रयाबल क्लव मकवानपुरका संयोजक विवश जंग थापाले भने –‘खेलमार्फत विद्यालय र विद्यार्थीहरुबीचको पारस्परिक सम्बन्धको विकास हुने गर्दछ ।’ तेस्रो जिल्ला स्तरीय प्रतियोगितामा मकवानपुरका ९ वटा विद्यालयले सहभागीता जनाएका थिए । जसमा २ वटा सामूदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय रहेका थिए । प्रतियोगितामा स्क्रयाबल क्लव पोखराका सदस्य अर्जुन पाण्डे, नवोदय शिशु सदन विद्यालयका योजना तथा तालिम निर्देशक अव्यक्त खनाललगायतको आतिथ्यता रहेको थियो ।






