हेटौंडा, २२ जेठ/चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौंडामा पत्रकार र कलाकर्मी गरी ७ जना सम्मानित भएका छन् । चलचित्र क्षेत्रमा क्रियाशील कलाकर्मी र पत्रकारलाई चलचित्र पत्रकारिता दिवसको अवसरमा आइतबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

चलचित्र पत्रकार संघ मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको सम्मानबाट चारजना पत्रकार र तीनजना कलाकर्मी सम्मानित भएका हुन् । संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट बिदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार २०७७ राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन (पुष्कर लामा) सम्मानित भएका हुन् । गिरीलाई १० हजार र दाहाललाई ५ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको हो । कोभिडका कारण अघिल्लो बर्ष सम्मान कार्यक्रमको आयोजना भएको थिएन ।
चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट दीपक अधिकारी, चलचत्रि कलाकर्मी सम्मान २०७८ बाट अभिनेता राज कटुवाल, चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान २०७९ बाट लेखक तथा निर्देशक शिवम् अधिकारी सम्मानित भएका छन् । सोही अवसरमा संघका अध्यक्ष मणिराज गौतमलाई नेपाल पत्रकार महासंघ मकवानपुरको नेतृत्व गरेको र चलचित्र पत्रकार संघको नेतृत्व गरेको योगदान स्वरुप आभारपत्र प्रदान गरिएको थियो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता एवम् चलचित्र पत्रकार संघका कार्यबाहक अध्यक्ष कपिल खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । मन्त्री श्रेष्ठले घुमफिर वर्ष २०७९ मनाउने घोषणा गरिए लगत्तै चलचित्र क्षेत्रको माध्यमबाट पर्यटन विकास विकास हुने बताए । उनले प्रदेश सरकारले नयाँ पर्यटन स्थलको खोजी गरिरहेकोले उक्त स्थल चलचित्र छायाँकनको लागि पनि उपयुक्त रहने बताए ।
संघले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा पुरस्कार तथा सम्मान कार्यक्रम गर्दै आइरहेकोमा यसवर्ष जेष्ठ ७ गते स्थानीय तह निर्वाचनको मतगणनाको कारण आइतबार कार्यक्रम गरिएको संघका सचिव श्रीराम अर्जुनले बताए ।






