यादव जंगको नेतृत्वमा जनकल्याण एल्मुनाइ एसोसिएसन गठन

हेटौँडा, जनकल्याण माध्यमिक विद्यालयमा आज सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले यादव जंग रायमाझीको अध्यक्षतामा १३ सदस्यीय जनकल्याण एल्मुनाइ एसोसिएसन गठन गरेको छ। एसोसिएसनको उपाध्यक्षमा विजय विक्रम श्रेष्ठ, सचिवमा विक्रम गोपाली, सहसचिवमा मञ्जरी अधिकारी र कोषाध्यक्षमा कमला अधिकारी चयन भएका छन्।

ADVERTISEMENT

त्यसैगरी सदस्यहरूमा हरिकृष्ण कार्की, शम्भु अधिकारी, नवीन रायमाझी, गगन श्रेष्ठ, राजकुमार मोक्तान, विरोध रायमाझी, पूर्णिका कार्की र नारायण तामाङ रहेका छन्। एल्मुनाइ एसोसिएसनका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख तथा पूर्व विद्यार्थी भरत गोपाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका गोपालीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै ज्ञान, अनुभव तथा स्रोत–साधनको उपयोगमार्फत विद्यालयलाई थप सुदृढ बनाउन एल्मुनाइ एसोसिएसनले अग्रणी भूमिका खेल्नुपर्ने बताए।

पूर्व विद्यार्थी र विद्यालयबीचको सम्बन्ध मजबुत हुँदा शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरे। भेलाले एल्मुनाइ एसोसिएसनमार्फत विद्यालयको शैक्षिक, सामाजिक तथा संस्थागत विकासमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक सानोभाइ कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तान, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज कार्की, वर्तमान प्रधानाध्यापक रामकुमार बल, पूर्व शिक्षकहरू, एल्मुनाइ एसोसिएसनका पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *