नगरस्तरीय निबन्ध लेखनमा ब्रह्मदिक, चित्रकलामा ज्ञानदीप प्रथम

हेटौँडा, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको २५औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ज्ञानदीप रजत महोत्सवअन्तर्गत भएको नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा ब्रह्मदिक एकेडेमी प्रथम भएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा ब्रह्मदिक एकेडेमीकी सुप्रिया भोलन प्रथम, चन्द्रोदय माध्यमिक विद्यालयकी सबिना तामाङ द्वितीय र जनप्रिय माध्यमिक विद्यालयकी अनुजा दङ्गाल तृतीय भएकी छिन्। महोत्सवको दोस्रो दिन माघ ९ गते आयोजित नगरस्तरीय चित्रकला प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयकी आरोही राई प्रथम, भूटनदेवी माध्यमिक विद्यालयका वसन्त साह द्वितीय तथा चन्द्रोदय माध्यमिक विद्यालयकी रञ्जना ठाकुर तृतीय भएका छन्। सबै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरेका छन्।

यसअघि माघ ८ गते सम्पन्न जिल्लास्तरीय छात्रा बुद्धिचाल प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयकी रुबस पराजुली र पेमा याङ्की तामाङको समूह प्रथम, ब्रह्मदिक एकेडेमीकी सेमिना श्रेष्ठ र स्पन्दन अधिकारीको समूह द्वितीय तथा भूटनदेवी माध्यमिक विद्यालयकी रितिका साह र श्वेता साहको समूह तृतीय भएका थिए। महोत्सवकै क्रममा माघ ८ गतेदेखि सुरु भएको नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको क्वार्टरफाइनल चरण पूरा भएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी दीपक गौतमले जानकारी दिए। छनोट चरणमा सनसाइन इङ्लिस बोर्डिङ स्कुलले सुनगाभा शिक्षा निकेतनलाई २–० तथा निर्मल माध्यमिक विद्यालयले जेम्स इङ्लिस बोर्डिङ स्कुललाई २–० ले पराजित गरेका थिए।

ADVERTISEMENT

क्वार्टरफाइनल खेलहरूमा ज्योति माध्यमिक विद्यालयले श्रमिक माध्यमिक विद्यालयलाई २–१, सनसाइन इङ्लिस बोर्डिङ स्कुलले सिद्धार्थ शिशु सदनलाई २–०, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयले निर्मल माध्यमिक विद्यालयलाई २–० तथा कृष्ण आदर्श माध्यमिक विद्यालयले आयोजक ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयलाई २–१ ले पराजित गरेका छन्। महोत्सवअन्तर्गत माघ १० गते बिहान ८ बजे ज्योति माध्यमिक विद्यालय, हेटौँडा–१८ र सनसाइन इङ्लिस बोर्डिङ स्कुल, हेटौँडा–३ तथा ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय, हेटौँडा–५ र कृष्ण आदर्श माध्यमिक विद्यालय, हेटौँडा–९ बीच सेमिफाइनल खेल हुनेछन्। फाइनल खेल दिउँसो २ बजेबाट आयोजना हुने विद्यालयले जनाएको छ। महोत्सव अन्तर्गत माघ १० गते नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *