हेटौँडा, मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा यतिबेला किसानहरू आलु रोपाइँमा व्यस्त छन्। बिहानैदेखि साँझ अबेरसम्म खेतबारीमा आलु रोप्ने काममा किसानहरू खटिएका छन्। यहाँका अधिकांश बासिन्दा दिनभर खेतमै देखिन्छन्। महिलाहरू डोकोमा गाईभैंसीको मल बोकेर खेततर्फ लागेका हुन्छन् भने पुरुषहरू ड्याङ बनाउने र आलु रोप्ने काममा व्यस्त छन्।
‘अहिले चुनावले छोएको छैन, आलु रोप्ने काम सकेपछि बल्ल चुनावतिर लाग्लान्,’ स्थानीय पूर्वशिक्षक सानोभाई कार्कीले भने, ‘अहिले यस क्षेत्रका बासिन्दा आलु रोपाइँमै व्यस्त छन्।’ थाहा नगरपालिकाका कृषकहरूले पछिल्ला वर्षहरूमा रासायनिक मलभन्दा प्राङ्गारिक मल प्रयोग गर्न थालेका छन्। रासायनिक मलले माटो बिगार्ने र खनेको आलु छिट्टै कुहिने समस्या देखिएपछि प्राङ्गारिक मलतर्फ आकर्षण बढेको कृषकहरू बताउँछन्।
‘थाहाका १२ वटै वडामा अहिले आलु रोप्ने काम भइरहेको छ,’ थाहा नगरपालिकाका कृषि विकास अधिकृत सञ्जय तिवारीले भने, ‘अहिले कसैलाई बोल्ने फुर्सदसम्म छैन।’
यस क्षेत्रमा बिहान–बेलुका चिसो हुने भए पनि किसानहरू आलु रोपाइँमा निरन्तर खटिएका छन्। यहाँका बासिन्दालाई आलु खेती गर्ने वर्षौँदेखिको अनुभव छ। किसानहरूले ६० सेन्टिमिटरको फरकमा ड्याङ बनाएर २५ सेन्टिमिटरको दुरीमा आलु रोप्ने गर्छन्। ‘आलु खेतीमा यहाँका किसानहरू सामान्य प्राविधिक सरह दक्ष छन्,’ तिवारीले भने, ‘रोग पहिचानदेखि विषादी प्रयोगसम्मको आधारभूत ज्ञान उनीहरूमा छ।’ आवश्यकता परेमा किसानहरूले कृषि प्राविधिकसँग सल्लाह लिएर मात्र रासायनिक मल र विषादी प्रयोग गर्ने गरेको उनले बताए।
यहाँका कृषकहरूले कार्डिनल, डेजिरे, खुमल रातो, जनकदेव, कुखुरे ज्योती र साजिटा जातका आलु रोप्ने गरेका छन्। आवश्यक बीउ आलु थाहा नगरपालिकाको दामन बागवानी फार्मबाट उपलब्ध हुँदै आएको छ। फार्मले प्रतिकेजी ४० रुपैयाँमा बीउ आलु बिक्री गर्दै आएको छ।
कतिपय कृषकहरूले आफैँले बीउ आलु काठमाडौंका शीतभण्डारमा भण्डारण गरी अहिले ल्याएर रोप्ने गरेका छन्। स्थानीय स्तरमा शीतभण्डार नहुँदा कृषकहरूले बीउ सुरक्षित राख्न काठमाडौं लैजानुपर्ने बाध्यता छ।
प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीय सहकारीको संयुक्त लगानीमा थाहा–३ घर्तीखोलामा शीतभण्डार निर्माणाधीन अवस्थामा छ। छिट्टै शीतभण्डार सञ्चालनमा आउने थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टले जानकारी दिए।
माघको पहिलो सातादेखि सुरु हुने आलु रोपाइँ फागुनको पहिलो सातासम्म सकिने गर्छ। वैशाखको अन्त्यदेखि आलु खन्न सुरु गरिन्छ। थाहा नगरपालिकामा करिब ६ हजार ३ सय रोपनी क्षेत्रफलमा आलु खेती हुँदै आएको छ। गत वर्ष झण्डै ७ हजार टन आलु उत्पादन भएको थियो। उत्पादन राम्रो हुनुका साथै मूल्य पनि सन्तोषजनक पाएको कृषकहरूले बताएका छन्। दामन, पालुङ, वज्रवराही, चित्लाङ, टिष्टुङ र आग्रा क्षेत्रका कृषकहरूले प्रायः जेठको पहिलो साता आलु खन्न सुरु गर्छन्। प्रतिरोपनी करिब १५ क्विन्टल आलु उत्पादन हुने कृषि शाखाले जनाएको छ।
तर, कामदारको अभावले आलु रोप्ने र खन्ने बेलामा समस्या हुने गरेको छ। साथै सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकहरूले आलु खन्नासाथ खेतबाटै बिक्री गर्नुपर्ने अवस्था रहेको छ।
कृषि शाखाका अनुसार थाहाबाट वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको आलु निर्यात हुने गरेको छ। यहाँ उत्पादन हुने बेमौसमी आलु काठमाडौं, पोखरा, हेटौँडा, बुटवल, भरतपुरलगायतका सहर हुँदै भारतसम्म निर्यात हुन्छ। नगरपालिकाले आलुबाट मात्र वार्षिक ५७ देखि ६० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ। (स्रोतः इकान्तिपुरको सहयोगमा)






