हेटौंडा, नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा दोस्रो संस्करणको हेटौंडा नगरस्तरीय महिला तथा शिक्षक कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। गत वर्षको सफल आयोजनापछि यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको हो।

आयोजक समितिका अनुसार प्रतियोगिता माघ १६ र १७ गते दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा हेटौंडा नगरभित्रका २० वटा सामुदायिक विद्यालयका टिमहरू सहभागी हुनेछन्। प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराउनुभएको हो।
प्रतियोगिता हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमहरूले क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ, साथै मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँले गर्नुहुनेछ। उद्घाटन खेल सिद्धार्थ माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालयबीच हुने जनाइएको छ।
नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले शिक्षणसँगै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता बढाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
बुधबारकै पत्रकार सम्मेलनमा प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक गरिएको छ। प्रतियोगितामा हेटौंडा नगरभित्रका सिद्धार्थ मावि, प्रगति मावि, भृकुटी मावि, आधुनिक मावि, भुटनदेवी मावि, त्रिभुवन मावि, ज्योति मावि, अरनिको मावि, गोरखनाथ मावि, श्रमिक मावि, बाल ज्योति मावि, बालबोध मावि, चन्द्रोदय मावि, जनप्रिय मावि, राजदेवी मावि, दीपज्योति आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, बुद्ध मावि, नवज्योति मावि र निर्मल माविको सहभागिता रहनेछ।






