व्यवस्था परिवर्तन होइन, जीवन परिवर्तन जरुरी : मुख्यमन्त्री बानियाँ

हेटौंडा, बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सहिदहरूको सपना साकार पार्न अब व्यवस्था परिवर्तनको बहसमा अल्झिनु भन्दा पनि विद्यमान व्यवस्थाभित्रै जनताको जीवनस्तर र अवस्था परिवर्तन गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

ADVERTISEMENT

सहिद दिवसको अवसरमा हेटौंडास्थित सहिद स्मारकमा आयोजित सहिद दिवस २०८२ को समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपालमा राणा शासन र राजतन्त्रको अन्त्य भई जनताको सर्वोच्चता स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको उल्लेख गर्नुभयो । उहाँले थप राजनीतिक परिवर्तनका लागि अब कसैले सहिद हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

सहिदहरूको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले सबै जातजाति, धर्म र समुदायका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले अब यही व्यवस्थाको रक्षा गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

ADVERTISEMENT

नेपालको राष्ट्रिय झण्डा काँधमा बोकेर आफ्नै देशको केन्द्र सिंहदरबार जलाउने कार्य कुनै पनि सच्चा नेपालीबाट हुन नसक्ने भन्दै उहाँले पछिल्लो समय देखिएका केही अराजक गतिविधिप्रति कडा आलोचना गर्नुभयो । मुख्यमन्त्री बानियाँले नयाँ पुस्ताको नाममा फैलाइएका भ्रम र वितण्डाबाट सचेत रहन आग्रह गर्दै मुलुकको समृद्धिका लागि सम्पूर्ण राष्ट्र र राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

“नयाँ पुस्ताको नाममा फैलाइएका भ्रम र वितण्डाबाट जोगिन र मुलुकलाई समृद्ध बनाउने अभियानमा सिङ्गो राष्ट्र तथा सबै राजनीतिक दलहरू एकजुट हुन आवश्यक छ,” मुख्यमन्त्री बानियाँले भन्नुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख दिपक प्रसाद देवकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा सहिद स्मारक विकास समितिका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *