हेटौंडा–१ का वडाध्यक्ष न्यौपानेमाथि मोबिल प्रहार, कांग्रेसद्वारा घटनाको घोर भर्त्सना

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष, नगर प्रवक्ता तथा नेपाली कांग्रेस हेटौंडा नगर समितिका सचिव सविन न्यौपानेमाथि अज्ञात समूहले मोबिल प्रहार गरेका छन्। घटना बुधबार अपराह्न हेटौंडा–१ स्थित चाइनाक्वाटरमा रहेको वडा कार्यालय परिसरमै भएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले वडाध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापेर फरार भएका थिए। मोटरसाइकलको नम्बर पहिचान हुन सकेको छैन। मोबिल उनका टाउको, शरीर र लगाएको कपडामा परेको थियो। घटनास्थलबाट ‘भूमिहीन सुकुमवासी’ शीर्षक लेखिएको एउटा खाली रेकर्ड फाइलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हाल फरार आक्रमणकारीहरूको खोजी तीव्र पारिएको र अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।
उपमहानगरपालिकाले हालै अस्पताल पछाडिको स्वर्गलोक क्षेत्रमा रहेको सार्वजनिक जमिनमा बनाइएका अवैध टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानलाई लिएर घटना घटेको हुनसक्ने आशंका प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

घटनाको जानकारी पाएलगत्तै हेटौंडा उपमहानगरकी मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ लगायत नगरका अन्य वडाध्यक्षहरू घटनास्थलमा पुगेका थिए।

यसबीच, घटनाको कडा शब्दमा भर्त्सना गर्दै नेपाली कांग्रेस मकवानपुरले विज्ञप्ति जारी गरेको छ। पार्टीका सचिव भीमसेन महत्तले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक मूल्य विपरीत गरिएको उक्त अमानवीय कार्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *