रेडियो मकवानपुरद्वारा सञ्चारिकालाई सेनेटरी प्याड वितरण

हेटौंडा, हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६औँ वार्षिक उत्सवको अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सञ्चारिका समूह मकवानपुरलाई सेनेटरी प्याड वितरण गरेको छ। रेडियो मकवानपुरका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङसहितको टिमलाई २ सय थान सेनेटरी प्याड हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले सामुदायिक रेडियो भएकाले समुदायसँग प्रत्यक्ष जोडिएर सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको बताए। उनले महिला पत्रकारहरूको मासिक स्वास्थ्य समस्यालाई ध्यानमा राखी पत्रकारिता पेशामा सहजता होस् भन्ने उद्देश्यले सेनेटरी प्याड वितरण गरिएको स्पष्ट पारे। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले महिला पत्रकारहरूका लागि  पत्रकार महासंघ मकवानपुर हरेक परिस्थितिमा साथ दिन तयार रहेको बताए। कार्यक्रममा सञ्चारिका समूह मकवानपुर तथा बागमती प्रदेशकी संस्थापक अध्यक्ष सरिता दाहाल, सञ्चारिका समूह बागमती प्रदेशकी महासचिव नानीमाया सापकोटा,  सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

रेडियो मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम, दोस्रो दिन हेटौंडा–१८ खाद्यान्न सहयोग गरिएको थियो। भोली १९ गते रेडियोमै निर्वाचन आचारसंहिता सम्बन्धि अन्तर संवाद, २० गते मिडिया कप फुटसल प्रतियोगिता र २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन हुनेछ । सप्ताहव्यापी कार्यक्रमको समापनमा मकवानपुरका २ जनालाई जनही नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान समेत प्रदान गरिनेछ । रेडियो मकवानपुरले वार्षिकोत्सवमा २ जनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा २ महिलालाई जागरुक महिला सम्म्मान प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *