मकवानपुरका कुनै पनि उम्मेदवारले खोलेनन् निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता

हेटौँडा, मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले मंगलबारसम्म निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा खोल्नुपर्ने छुट्टै बैंक खाता नखोलेको पाइएको छ।

ADVERTISEMENT

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण आम्दानी तथा खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ। तर हालसम्म कुनै पनि उम्मेदवारले उक्त व्यवस्था पालना नगरेकोप्रति निर्वाचन अधिकृतको कार्यालय र आचारसंहिता अनुगमन समितिले चासो व्यक्त गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र गरी मकवानपुरमा जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर उनीहरूमध्ये हालसम्म कसैले पनि निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता नखोलेको बाग्मती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
“निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न निर्वाचन कार्यालयको सिफारिस आवश्यक पर्छ, तर अहिलेसम्म कसैले पनि सिफारिस लिएका छैनन्,” ढकालले भने।

मकवानपुर–१ मा राजनीतिक दलबाट १३ जना र १० जना स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, मकवानपुर–२ मा राजनीतिक दलबाट १६ जना र पाँच जना स्वतन्त्र उम्मेदवार गरी २१ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले उम्मेदवारले गर्ने सबै प्रकारका आर्थिक कारोबार पारदर्शी बनाउन अनिवार्य रूपमा नयाँ बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ। आयोगका अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण आम्दानी तथा खर्च सोही खातामार्फत मात्रै गर्नुपर्ने हुन्छ।

Advertisement 5

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार छुट्टै बैंक खाताले निर्वाचन खर्च पारदर्शी बनाउने, साथै आयोगले तोकेको खर्चको सीमा उल्लंघन हुन नदिने उद्देश्यले सबै उम्मेदवारलाई नयाँ खाता खोल्न अनिवार्य गरिएको हो।
“छुट्टै खाता नखोल्ने वा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई स्पष्टिकरण सोधिनेछ,” श्रेष्ठले भनिन्, “आवश्यक परे एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्छ।”

आचारसंहिता उल्लंघन भएको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम कारबाही हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिए। -इकान्तिपुरको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *