हेटौंडा/मकवानपुरको मनहरीमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ सुनाचुरीमा काकरभित्ताबाट काठमाडौं तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मृत्यु हुनेमा मनहरीको नयाँबस्ती बस्ने २९ वर्षीय अबिनाश गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेका छन् । बसमा सवार यात्रुहरुलाई अर्को सवारी साधनमा गन्तव्य तर्फ पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।






